
काठमाडौं, वैशाख २१ । यसअघि लागू गरिएका कार्यक्रमहरुलाई पनि समेट्दै सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा केही नयाँ कार्यक्रमहरु ल्याएको छ ।
दुई वर्षभित्र साक्षर नेपाल बनाउने, आगामी वर्ष सबैलाई स्वास्थ्य बिमाको दायरामा ल्याउनेजस्ता कार्यक्रमहरु अघि सारिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदमा प्रस्तुत् गरेको नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै पुरानो कार्यक्रमलाई यथावत् राखिएको छ ।
स्वास्थ्यमा पुरानै कार्यक्रम दोहोरिएपनि शिक्षामा भने नयाँ कार्यक्रमहरु थपिएको छ ।
२०७५ देखि ८५ सम्म १० वर्षे सार्वजनिक विद्यालय सवलीकरण दशक मनाउने, स्नातक गरेका युवालाई फेलोसिप प्रदान गरी देशका विभिन्न क्षेत्रमा पठाउने, जहाज, खनिजलगायत प्राविधिक शिक्षा पढ्न छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम अघि सारिएको छ ।
‘चिनौं आफ्नो माटो, बनाउ आफ्नो देश’ भन्ने नारासहित पढ्नका लागि युवाहरुलाई स्वदेशी तथा विदेशी छात्रवृत्ति प्रदान गरिनेजस्ता शिक्षामा नयाँ कार्यक्रम थपिएको छ ।
विश्वविद्यालय, विद्यालयका प्रयोगहीन जमिन उपयोगमा ल्याउने, सबै विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुर्याउने कार्यक्रम पनि अघि ल्याइएको छ ।
यस्तै, छात्राहरुका लागि सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याड प्रदान गर्ने, जनसंख्या र भौगोलिक अवस्थालाई हेरेर विद्यालय समायोजन तथा एकीकरण गर्ने, विद्यालयमैत्री पाठ्यक्रम, छात्रवृत्ति र दिवाखाजाको व्यवस्था गर्ने, विदुशी योगमाया विश्वविद्यालय स्थापना गर्ने कार्यक्रम पनि शिक्षा क्षेत्रमा ल्याइएको छ ।
आगामी वर्ष सबै नेपालीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने र सबै अस्पतालमा स्वास्थ्य बिमाले तोकेको सेवा–सुविधा पाउने व्यवस्था लागू गराउने पुरानै कार्यक्रमलाई निरन्तता दिइएको छ ।
सबै स्वास्थ्य केन्द्रहरुमा एक विशिष्ठ चिकित्सक उपलब्ध गराउने र दूर चिकित्सक शिक्षाअन्र्तगत् २४ घन्टा सबै स्वास्थ्य केन्द्रबाट सेवा प्रदान गरिनेछ ।
सबै प्रदेशमा एक विशिष्टिकृत स्वास्थ्य केन्द्र स्थापना गर्ने, सर्भाइकल क्यान्सर रोकथाम खोप कार्यक्रम सात जिल्लामा सन्चालन गर्ने र तीन वर्षभित्र अत्याधुनिक निदान केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
वीर अस्पताललाई उत्कृष्ट स्वास्थ्य केन्द्र बनाइने र भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल बनाइने कार्यक्रम समावेश गरिएको छ ।
टोलटोलमा नागरिक आरोग्य केन्द्र स्थापना गरिने र लामखुटे्को टोकाइबाट फैलने रोगका लागि प्रभावकारी कार्यक्रम सन्चालन गरिने कार्यक्रम समावेश गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्