
काठमाडौं, असार २ । पुरानादेखि नयाँ पुस्तासम्मका नेपाली कविका उत्कृष्ट सिर्जनाहरू साहित्यका विशिष्ट पाठकहरूमाझ श्रवण गराउने उद्देश्यले सुरु गरिएको ‘हामी’ कवि र कविता, को ३६ औंैंैं श्रृंखलामा स्वप्निल स्मृति र असीम सागरले कविता सुनाए ।
लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र सर्वनामको संयुक्त आयोजनामा निरन्तर रूपमा प्रत्येक महिनाको १ गते आयोजना हुने ‘हामी’ कवि र कविता, अन्तर्गत २०७३ असार १ गते स्वप्निल स्मृति र असीम सागरले आफ्नो कविता वाचन गरेका थिए ।
सर्वनामका तर्फ बाट अशेष मल्ल र साहित्यकला मन्दिरका तर्फबाट विष्णुविभु घिमिरेले कविद्वयलाई खादा माला लगाए लगतै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रमको पहिलो चरणमा कवि स्वप्निल स्मृतिले आफ्ना कविताहरु वाचन गरे ।
छोरालाई अनुरोध !
मेरो छोरा
तिमी हर प्रश्नका लागि जन्मशिद्द हौं
त्यो बुढो हिमाल तिम्रो पुर्खा हो
त्यो गहिरो आकाश तिम्रो इच्छा हो
एक रुख अर्को रुख उफ्रिहिँडने
यो चञ्चल बतास तिम्रो प्राण हो
डोरी झुण्ड्याए जस्ता पारि पहाडका ती नागबेली बाटाहरु
तिम्रा स्वप्नहरु हुन् ।
तिम्रा दुई आँखा र
ती अनगिन्ती ताराहरु एउटै सन्तान हुन्
यो हिउँदो भरीको हिउँ
यो ऋतुभरिको इन्द्रेणी
र मैले तिम्रो गलामा दिएको पलभरिको चुम्बन
हम्रो जीवन हो ।
तिमीलाई जस्ले जन्मायो, हुर्कायो
र यति कलकलाउँदो बनायो
ऊ धर्ती हो
ऊ तिम्रो अनि मेरो पनि आमा हो ।
र दोस्रो चरणमा अर्का कवि असीम सागरले आफ्नो कवितालाई सहज तरिकाले गरे ।
पसिनाको को जुलुस
धनमाया
स्कुस बेच्छिन् , ईमान बेच्दिनन्
साग बेच्छिन् , स्वाभिमान बेच्दिनन्
आइसक्रिम बेच्छिन् , हिमाल बेच्दिनन्
देशको मानचित्र बेच्छिन्, देश बेच्दिनन्
मैले तिनै धनमायाबाट सिकेको हँु
देशलाई माया गर्न ।
जसरी घामले जोगाएर राख्छ आफूभित्र न्यानो
फूलले बचाएर राख्छ आफू भित्र सुभाष
त्यसरीनै
जोगाएकी छन् उनले स्वाभिमान
बचाएकी छिन् उनले देश
जसरी
घोटिँदा घोटिँदा शालिग्राम बन्छ पत्थर
हिँडिदा हिँडिदा बनिन्छ बाटो
त्यसरी नै
बनिएकी हुन् धनमाया
उनी कति कोमल छिन्, फूललाई दाँज्नु
उनी कति कठोर छिन्, पत्थरलाई छाम्नु
र सम्झनु
निस्किएन भने पसिनाको जुलुस
धनमायाको निधारबाट
देशमा खडेरी पर्छ, तुफान आउँछ
सोही तुफानले
जम्मै सिमाना भत्काएर
देशभरी भोक थुर्पाछ
तब,
भोको पेटले झण्डा समातेर
लर्बरिएको खुट्टाले
कस्को आँगन टेकेर भन्नु हुन्छ ?
यो देश मेरो हो
तीसदेखि पचाससम्मको दशकमा नेपाली कविता गोष्ठीहरू प्रायः हरेक साता आयोजना गरिन्थ्यो । यस्ता आयोजनाहरूमा कविले आफूलाई निखार्ने र स्रोताको समर्थन बटुल्ने अवसर पाउँथे । उपस्थित कविद्वयले यस्ता खालको कार्यक्रमले गर्दा आफ्ना सिर्जनाले एउटा निकास पाएको बताए ।
वरिष्ठ कवि र अन्य पेशाकर्मीहरुले रोचकतापूर्वक दुबै कविहरुलाई सुनेका थिए । यस आयोजनाले पुराना र नयाँ पुस्तालाई एकै थलोमा समेट्ने र सिर्जनाहरूको रसास्वादन गर्ने अवसर पनि जुराएको छ । यस कार्यव्रmमले पुराना पुस्तालाई नयाँ पुस्तामाझ र नयाँ पुस्तालाई पुराना पुस्तामाझ परिचित गराउने अवसर जुराएको उपस्थित दर्शकहरुले बताए ।
प्रतिक्रिया दिनुहोस्