२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


नारायणगढ–मुग्लिन सडकखन्डमा चार ठाउँमा नयाँ पुल बनाइँदै


0
Shares

चितवन, असार २ । सडक विस्तार भइरहेको नारायणगढ–मुग्लिन सडकखन्डमा चार ठाउँमा नयाँ पुल निर्माण गरिने भएको छ ।

भरतपुरबाट मुग्लिनसम्मको दुरीमा २१ ओटा पुल रहेका छन् । जसमध्ये चार ठाउँमा नयाँ पुल निर्माण गरिने नारायणगढ–मुग्लिन आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

दासढुंगा, खानीपुल, मौरीपुल र जलवीरेपुल भएको ठाउँमा नयाँ पुल निर्माण गरिँदैछ । ती स्थानमा रहेका पुराना पुललाई मर्मत–सम्भार गरिने र नयाँ पुल निर्माण गरिने खनालले बताए ।

पुराना पुलमा खाली सवारी–साधन र नयाँ पुलमा मालबाहक सवारी–साधन सन्चालन हुनेछ ।

हाल सन्चालनमा रहेका पुलहरु ६ देखि सात मिटरसम्मका चौडा रहेका छन् । अब बन्ने पुल भने सात मिटरदेखि ११ मिटरसम्म चौडा हुनेछन् ।

कतिपय स्थानमा बाटोको रेखांकनअनुसार सीधा पारिने हुँदा नयाँ पुल अतिआवश्यक भएको हो । अन्य १७ ओटा पुलको पनि अध्ययन भइसकेको छ । ती पुल निर्माण क्रमशः हुँदै जाने बताइएको छ ।

सडक चौडा हुँदासमेत पुल साँघुरा र जीर्ण अवस्थामा रहँदा यातायातका साधन सहजै गुडाउन सकिएको थिएन ।

आँपटारीदेखि मुग्लिनसम्मको सडक अहिले चौडा बनाउने काम भइरहेको छ । रासस

फाइल फोटो