२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


सुनसरीको सीमावर्ती क्षेत्रमा साँझ ७ बजेपछि मदिरा बिक्री–वितरणमा रोक


0
Shares

सुनसरी, असार २ । सुनसरीको सीमावर्ती क्षेत्रमा साँझ ७ बजेपछि मदिरा बिक्री–वितरणमा रोक लगाइएको छ ।

नेपाल र भारत सीमा क्षेत्रमा हुन सक्ने सम्भावित घटना, दुर्घटना र चोरीसमेत मदिरा सेवनकै कारण भइरहेको गुनासो बढेपछि मदिरा बिक्री–वितरणमा रोक लगाइएको हो ।

सीमा क्षेत्रमा नसालु पदार्थको सेवन र उपभोगले झै–झगडा बढ्नुका साथै चोरीको त्राससमेत बढेकाले सुनसरीको साहेबगन्ज र कप्तानगन्ज नाकामा साँझ ७ बजेपछि मदिरा बिक्री–वितरणमा रोक लगाएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

स्थानीय शान्ति समिति समन्वय सञ्जालको आग्रह र स्थानीयबासीको सहयोगमा सशस्त्र सीमा सुरक्षा बलले प्रत्येक दिन साँझ ७ बजेपछि मदिरा बिक्री–वितरण गर्न नपाइने निर्णय गरेको सञ्जालका अध्यक्ष महेन्द्र मेहताले जानकारी दिए ।

खुला सीमाका कारण भारतीय र केही नेपाली चोरले मदिरा सेवन गर्ने बहानामा सीमामा पस्ने र राति अबेर भएपछि चोरीको गतिविधि गर्ने भएको हुँदा त्यसको मुख्य कारक मदिरा भएकाले त्यसमा रोक लगाइएको हो । रासस