काठमाडौं, असार ३ । नेकपा एमालेले बल्खुस्थित पुरानो पार्टी केन्द्रीय कार्यालयको भवन बिहीवारदेखि भत्काउने कार्य सुरु गरेको छ ।
भूकम्पपछि क्षति भएको बल्खुस्थित पुरानो पार्टी कार्यालयको भवन बिहीबारदेखि भत्काउन सुरु गरिएको पार्टी कार्यालयका कर्मचारी नारायण अर्यालले जानकारी गराए ।
उनका अनुसार १० जना मजदुरले भूकम्पबाट क्षतिग्रस्त भवन भत्काउन सुरु गरेका छन् ।
‘मजदुरले चौथो तल्लाबाट भत्काउन सुरु गरेका छन्,’ उनले भने, ‘बिहीबार चौथो तल्लामा रहेको गजुर भत्काउने काम भयो ।’
स्थानीय ठेकेदार रामबहादुर श्रेष्ठले बोलकबोलमार्फत ३१ लाख रुपैयाँमा पार्टी कार्यालय भत्काउने जिम्मा पाएका छन् ।
पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले ३ महिनाभित्र भत्काइसकिने बताए । श्रेष्ठका अनुसार भत्काउनेले भवनमा रहेको चाइनिज इँट्टा, मूल गेट, काठका सामग्री, ग्रिल, इलेक्ट्रोनिक, झ्याल ढोकालगायत भवनभित्र रहेका सबै सामान लैजाने भएका छन् ।
२०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पका कारण एमालेको तत्कालीन बल्खुस्थित केन्द्रीय कार्यालयमा क्षति पुगेको थियो । भूकम्पबाट क्षति पुगेपछि एमाले मुख्यालय धुम्बाराहीमा २०७२ साल साउन २३ गते सरेको हो । अहिले पुरानो कार्यालयको परिसरमा सम्पर्क समन्वय कमिटी, पार्टीको मुखपत्र नवयुगको वितरण शाखा र नवयुग छापाखानामात्र रहेका छन् । (रासस)





प्रतिक्रिया दिनुहोस्