जितेन्द्र भण्डारी-
पाँचथर, असार ३ । पाँचथरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल जोरपोखरी अतिक्रमणको चपेटामा परेको छ । तीनवटा गाविसमा जोडिएको जोरपोखरीमा पूजाअर्चना गरे रोग नलाग्ने जनविश्वास छ ।
खुँगा, एकतिन हुँदै मेमेङ जोड्ने ग्रामिण सडक निर्माणका क्रममा जोरपोखरी अतिक्रमणमा परेको हो । मानवअधिकार, चेतना र विकास केन्द्र (हुकोडेक) नेपालले सडक निर्माण गर्ने क्रममा निस्किएका ढुंगा र माटो ‘सिंह पोखरी’मा पसेपछि त्यहाँको पानी सुक्न थालेको जोरपोखरी क्षेत्र संरक्षण समितिले जनाएको छ ।
एक किलोमिटर क्षेत्र ढाकेको जोरपोखरीमा सिंह र सिद्ध नामका दुईवटा पोखरी रहेकाले जोरपोखरी नामाकरण गरिएको हो । पछिल्लो समय अतिक्रमण हुन थालेपछि सिंह पोखरी पानीविहीन भएको छ भने सिद्धपोखरीको पानी पनि क्रमशः घट्दै गएको छ ।
पोखरीमा पानी सुकेकोबारे सरोकारवाला निकायले कुनै वास्ता नगरेको स्थानीयको आरोप छ ।
सिद्धपोखरी धार्मिक र ऐतिहासिक स्थल भएकाले यसको संरक्षण गर्नुपर्ने माग स्थानीयको छ । स्थानीयको जीवनस्तर सुधारका लागि जोरपोखरीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने सम्भावना छ । तर पोखरीको संरक्षणमा राज्यले नै बेवास्ता गरेको स्थानीय समाजसेवीको भनाइ छ ।
पोखरी संरक्षणका नाममा पानी ल्याउने र पर्खाल लगाउने काम भए पनि उचित संरक्षण हुन नसक्दा पछिल्ला दिनमा पोखरीको सौन्दर्यतामा ह्रास आएको बजारवासी बताउँछन् । पोखरी वरिपरीको बाटो व्यवस्थित नगरिँदा पानीको भेलसमेत पोखरीभित्र पस्न थालेको छ । तर, पाँचथरका स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला भने जोरपोखरी संरक्षणको पहल शुरु भइसकेको दाबी गर्छन् ।
जोरपोखरी क्षेत्रमै दरबार, आगेजुङ गुम्बा र शिवगंगा जस्ता धार्मिक तथा ऐतिहासिक स्थल रहेका छन् । पोखरीको संरक्षण सम्बर्द्धन गर्न सके यहाँ बाह्रैमास डुंगा सञ्चालन गर्दै पर्यटकलाई आकर्षित गर्न सकिने सम्भावना छ । तर, त्यसका लागि राज्यबाटै पहल गर्नुपर्ने स्थानीयको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्