२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


हिमाली भेगमा हेलिकोप्टर नउडाउनोस् : गृह, पर्यटकलाई सुरक्षित राख्नोस् : पर्यटन विभाग


0
Shares

काठमाडौं, वैशाख २० । बंगालको खाडीबाट विकसित भएको समुद्री आँधी ‘फानी’को प्रभाव नेपालमा पनि देखिन सुरु भएको छ ।

फानीको प्रभाव र पश्चिमी वायुका कारण नेपालका केही स्थानहरुमा अहिले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आँधी फानी नेपालतर्फ आउने सम्भावना देखिएको छैन । तर, यसको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।

‘हिमाली क्षेत्रमा हेलिकोप्टर उडान नगर्नोस्’

गृह मन्त्रालयअन्तर्गत्को राष्ट्रिय आपत्कालीन कार्यसन्चालन केन्द्रले पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुनसक्ने भन्दै सो क्षेत्रमा अहिलेदेखि नै शनिबार दिनभरसम्म हेलिकोप्टर उडान नगर्न आग्रह गरेको छ । 

केन्द्रले शुक्रबार ट्वीटमार्फत् पर्यटक र यात्रीहरूलाई सुरक्षित स्थानमा रहन अनुरोधसमेत गरेको छ ।

पर्यटकलाई सुरक्षित राख्नोस् : विभाग

यता, पर्यटन विभागले पर्यटकहरुलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । 

‘नेपालका विभिन्न क्षेत्रमा भ्रमणमा रहनुभएका तथा पर्वतारोहणका लागि विभिन्न हिमाल अवस्थित क्षेत्रमा जानुभएका पर्यटक तथा पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरुले स्थानीय मौसमको ख्याल गरी आफू र आफ्ना पर्यटकलाई सुरक्षित स्थानमा राख्ने तथा कुनै क्षति हुन नदिने प्रबन्ध गर्नू/गराउनू भइ नेपालको पर्यटन क्षेत्र सुरक्षित र विश्वसनीय रहेको सन्देश प्रवाहमा सहयोग गर्नुहुन अनुरोध छ’–विभागद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ ।

भारी हिमपातको सम्भावना

फानीको प्रभावबाट पूर्वी र मध्यका स्थानहरुमा मेघगर्जन/चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने तथा एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै, नेपालको हिमाली भू–भागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ । 

साथै, देशको पश्चिमी क्षेत्रमा शुक्रबार पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाइएको छ । 

आइतबारदेखि मौसममा क्रमिकरुपमा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

पुरी तटसँग ठोक्कियो

समुद्री आँधी ‘फानी’ शुक्रबार भारत, ओडिसाको पुरी तटसँग ठोक्किएको छ । फानी ओडिसा आइपुगेको हो । 

त्यहाँका तटीय क्षेत्रका झन्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । 

त्यहाँको मौसम विभागले ओडिसाको तटीय क्षेत्रबाट भित्रिएको फानी आँधी उत्तरपूर्वी दिशामा कमजोर हुँदै जाने जनाएको छ । 

मौसम विभागकाअनुसार फानीको गति १७५ किलोमिटर प्रतिघन्टादेखि १८५ किलोमिटर प्रतिघन्टासम्म हुनसक्नेछ । यसका कारण समुद्रमा झन्डै डेढ मिटरसम्म छाल आउनसक्नेछ । 

पुरीको तटीय क्षेत्रमा ठोक्किएपछि यो चक्रवात ओडिसाकै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक, बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ बढ्दैछ । त्यसपछि यसले बंगलादेशका केही भागमासमेत प्रभाव पार्ने जनाइएको छ । 

मौसमविद्हरुकाअनुसार जमिनको सम्पर्कमा आएपछि फानीको तीव्रता कम हुनेछ ।