
काठमाडौं, वैशाख २० । भारतको ओडिसामा ‘फानी’ नामक सामुद्रिक आँधी आइपुगेको छ ।
बंगालको खाडीबाट विकसित भएको फानी भारतको ओडिसामा आइपुगेको हो ।
ओडिसामा तीव्रगतिमा हावाहुरीसहित वर्षा भइरहेको अधिकारीहरुले जनाएका छन् ।
तटीय क्षेत्रका झन्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
जलसेना र ‘कोस्टगार्ड’लाई सम्भावित घटनालाई कम गर्न उच्च सतर्कताका राखिएको छ ।
त्यहाँको मौसम विभागले ओडिसाको तटीय क्षेत्रबाट भित्रिएको फानी आँधी उत्तरपूर्वी दिशामा कमजोर हुँदै जाने जनाएको छ ।
मौसम विभागकाअनुसार फानीको गति १७५ किलोमिटर प्रतिघन्टादेखि १८५ किलोमिटर प्रतिघन्टासम्म हुनसक्नेछ । यसका कारण समुद्रमा झन्डै डेढ मिटरसम्म छाल आउनसक्नेछ ।
ओडिसा, पुरीको तटीय क्षेत्रमा ठोक्किएपछि यो आँधी ओडिसाकै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक, बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ बढ्दैछ । त्यसपछि यसले बंगलादेशका केही भागमासमेत प्रभाव पार्नेछ ।
#WATCH #CycloneFani hits Puri in Odisha. pic.twitter.com/X0HlYrS0rf
— ANI (@ANI) May 3, 2019
#WATCH Rain and strong winds hit Bhubaneswar as #FANI cyclone hits Puri coast with wind speed of above 175km/per hour. pic.twitter.com/QZYkk1EALI
— ANI (@ANI) May 3, 2019
FANI impact in Puri pic.twitter.com/s88pqKhLbR
— PIB in Odisha (@PIBBhubaneswar) May 3, 2019
नेपालमा प्रभाव
आँधी फानी नेपालतर्फ आउने सम्भावना अहिलेसम्म देखिएको छैन । तर, यसको प्रभावबाट नेपालका पूर्वी र मध्य क्षेत्रमा वर्षा हुनसक्नेछ ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार फानीको प्रभावबाट नेपालका पूर्वी र मध्य क्षेत्रमा शुक्रबार र शनिबार मौसम प्रभावित हुनसक्नेछ ।
पूर्वी र मध्यका स्थानहरुमा मेघगर्जन/चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने तथा एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै, नेपालको हिमाली भू–भागमा पनि मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।
साथै, देशको पश्चिमी क्षेत्रमा शुक्रबार पश्चिमी वायुको प्रभाव रहने हुँदा केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।
आइतबारदेखि देशभर मौसममा क्रमिकरुपमा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्