काठमाडौं, वैशाख २० । सनराइजर्स हैदरावादलाई ‘सुपर ओभर’मा पराजित गर्दै मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको ‘प्लेअफ’मा प्रवेश गरेको छ ।
बिहीबार राति भएको खेलमा सनसनीपूर्ण जित निकाल्दै मुम्बईले प्लेअफमा ठाउँ बनाएको हो ।
मुम्बईको वाङ्खडे रंगशालामा घरेलु टोलीले दिएको १६३ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १६२ रन नै जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा हैदरावादले २ विकेट गुमाएर ८ रन जोड्दै मुम्बईलाई ९ रनको लक्ष्य दियो । जवाफमा मुम्बईले बिनाविकेटको क्षतिमा ३ बलमा उक्त लक्ष्य पूरा गर्यो ।
राशिद खानको बलिङमा मुम्बईका हार्दिक पाण्डेयाले एक छक्का प्रहार गरेपछि टोली विजयी भएको हो ।
यो जितसँगै मुम्बई इन्डियन्स प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्स यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।
प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो अन्तिम चरणका खेलहरुपछि लाग्नेछ ।
चौथो स्थानमा रहेको हैदरावादसँगै राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स र किंग्स इलेभेन पन्जाबको प्लेअफमा छनोट हुने गणितीय सम्भावना जीवित रहँदा रोयल च्यालेन्जर्स बैंग्लाोर भने समूह चरणबाटै बाहिरिने निश्चित भइसकेको छ ।








प्रतिक्रिया दिनुहोस्