११ असार २०८२, बुधबार | Thu Jun 26 2025


एसएलसीमा ग्रेडिङ प्रणाली हतारमा लागु गरिएकोप्रति आलोचना


0
Shares

काठमाडौं, असार ५ । संसदको महिला तथा बालबालिका समितिका सदस्यहरुले एसएलसीमा ग्रेडिङ प्रणाली हतारमा लागु गरिएको भन्दै आलोचना गरेका छन् ।

समितिको भावी योजनाबारे छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले प्रयाप्त गृहकार्य बिना ग्रेडिङ प्रणाली लागुु गरिएको भन्दै आलोचना गरेका हुन् ।

उनीहरुले अधिकांश मावि स्तरका प्रधानाध्यापकलाई समेत यो प्रणाली बारेमा जानकारी नभएको बताए । एमाले सांसद राजेन्द्र पाण्डेले २००७ सालमा प्रजातन्त्र आएको उपलक्ष्यमा सबैलाई एसएलसी पास गरिएको भन्दै अहिले पनि त्यसकै झल्को मात्र आएको बताए ।

उनले ग्रेडिङ प्रणालीले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिमा कुनै भूमिका निर्वाह गर्न नसक्ने दाबी गरे । सांसद टिएल चौधरी, उमेश श्रेष्ठलगायतकाले पनि एसएएलसीको ग्रेडिङ प्रणालीमा सुधारको खाँचो रहेको बताए ।

छलफलमा सांसदहरुले समितिको कार्यक्षेत्रभित्र पर्ने शिक्षा र स्वास्थ्यको क्षेत्रमा अनुगमनलाई बढाएर लानुपर्ने धारणा राखेका थिए । यसैबीच आजै बसेको संसद्को विधायन समितिमा हालसम्म भएका कामको समीक्षा गर्दै आगामी दिनका कार्यक्रम बारेमा छलफल गरेको छ ।