
काठमाडौं, वैशाख १९ । रसुवागढी हाइड्रोपावर र सान्जेन जलविद्युत् आयोजनाको प्राथमिक सेयर बाँडफाँट भएको छ ।
बिहीबार ऊर्जा मन्त्रालयमा ‘आइपीओ’ बाँडफाँट भएको हो ।
यी कम्पनीले ‘जनताको जलविद्युत्’ योजनाअन्तर्गत् वैशाख ६ गते प्राथमिक सेयर निष्कासन गरेका थिए ।
रसुवागढीले एक अर्ब दुई करोड ६३ लाख बराबरको एक करोड दुई लाख ६३ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
यसमध्ये कमर्चारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ९३ लाख ३९ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।
रसुवागढीको प्राथमिक सेयरमा तीन लाख दुई हजार बढीले आवेदन दिएका थिए । यसमध्ये ११ हजार बराबर आवेदकको आवेदन रद्द भएको जनाइएको छ । बाँकी दुई लाख ९१ हजार बढी आवेदक सबैले सेयर पाएको जनाइएको छ ।
४० कित्तासम्मका लागि आवेदन दिने सबैले माग गरेअनुसारकै सेयर पाएको जनाइएको हो ।
यसैगरी, सान्जेन जलविद्युत्ले ५४ लाख ७५ हजार कित्ता प्राथमिक सेयर निष्कासन गरेकामा कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ४९ लाख ८२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।
यसमा तीन लाख ५९७ आवेदकले एक करोड ३८ लाख ६९ हजार कित्ताका लागि आवेदन दिएका थिए ।
यसमध्ये योग्य दुई लाख ८८ हजार बढी आवेदक सबैले सेयर पाएको जनाइएको छ ।
सान्जेनमा सबै आवेदकले न्यूनतम् १० कित्ता सेयर पाएका हुन् ।
सभामुख कृष्णबहादुर महरालाई रसुवागढी हाइड्रोपावरको ४० कित्ता र सान्जेन जलविद्युत् आयोजनाको २० कित्ता सेयर अनि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई दुवै आयोजनाको २०/२० कित्ता सेयर परेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्