११ असार २०८२, बुधबार | Thu Jun 26 2025


सशस्त्रको एआइजिपीमा बढुवा भएका खनाल र पुनलाई दर्ज्यानी चिन्ह प्रदान


0
Shares

काठमाडौं, असार ५ । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजिपी) मा पदोन्नती  भएका शैलेन्द्र खनाल र जीतबहादुर पुनलाई आइतबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय खनाल र पुन नेपाल सरकार मन्त्रिपरिषदको यही असार २ गतेको निर्णयले बढुवा भएका हुन् ।

सो अवसरमा महानिरीक्षक राईले खनाल र पुनको योग्यता र कार्यदक्षताको कदर गरेर विशिष्ट श्रेणीको पदमा एक तह पदोन्नती गरिएको बताउँदै संगठन र सरकारले जुन विश्वास गरेर यो पद दिएको छ, त्यो विश्वास पुरा हुने ढंगले आगामी दिनहरुमा दुबैबाट उत्कृष्ट कार्यसम्पादनको विश्वास व्यक्त गरे ।

‘प्रत्येक दिन जिम्मेवारीपूर्ण ढंगले गरेको कार्यको प्रतिफलस्वरुप यो पदोन्नती भएको हो,’ उनले भने, ‘सकारात्मक सोचका साथ उत्कृष्ट कार्य गर्नुहोस्, सफलता सधैँ तपाईको साथमा हुनेछ ।’

वि.सं. २०४९ साल वैशाख १९ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका खनाल २०५८ साल वैशाख १३ गते सशस्त्र प्रहरी बलतर्फ स्थानान्तरण भएका थिए । संयुक्त राज्य अमेरिका, इटाली, जोर्डन, जर्मनी, चीन र भारतबाट गरी विभिन्न सातवटा तथा स्वदेशमा गरी २० भन्दा बढि व्यावसायिक तालिम हासिल गरेका खनाल सुप्रबल जनसेवाश्री तृतीयसहित १३ विभुषण, मानपदवी, अलंकार तथा पदकबाट सुशोभित भइसकेका छन् ।

यसैगरी वि.सं. २०४३ साल फागुन १३ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका पुन २०५८ साल जेठ ८ गते सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए । स्वदेश तथा विदेशमा गरी कूल ११ वटा व्यावसायिक तालिम हासिल गरेका उनले ९ विभुषण, मानपदवी, अलंकार तथा पदक हासिल गरेका छन् ।