११ असार २०८२, बुधबार | Thu Jun 26 2025


दृष्टिविहीनका लागि राजधानीका सडक कति सहज ? (भिडियो)


0
Shares

प्रतीक लामिछाने-
काठमाडौं, असार ५ । लाखौं गाडी हुईकिने काठमाडौंका सडक छेउका फुटपाथमा हजारौं मानिसहरु ओहोरदोहोर गर्छन् । यसैपनि काठमाडौंका सडकमा गुड्नेदेखि हिड्नेसम्मले विभिन्न खाले समस्या झेल्नुपरेको छ, सँगै दृष्टिविहिनको अवस्था त झनै कष्टकर छ ।

सरकारले काठमाडौंका सडकको फुटपाथ दृष्टिविहीनमैत्री बनाउने कोशिस गरेको भएपनि यो फगत झारा टार्ने हिसाबले मात्र गरेको देखिन्छ ।

तीव्रगतिमा हुईकिने गाडीको छेवैमा रहेका साँघुरा फुटपाथबाट डराई–डराई हिड्ँनु उपत्यकाबासीको बाध्यता हो । दृष्टि हुनेहरुले यताउती छलेर जसोतसो आफू जोगिन उपाय निकाल्लान्, तर सवारी साधन र फुटपाथमा हिँड्ने मानिसको चेपुवामा परेका दृष्टिविहिनहरुका लागि फुटपाथ सधैँ ‘जोखिममार्ग’ बनिदिएको छ ।

उपत्यका भित्रको मुख्य शहरी क्षेत्रको सडक छेउको फुटपाथमा पहेँलो रंग लगाईएको धर्का सहितको टायल ओछ्याएर सडक निर्माण गरिएको छ । भद्रकाली, नारायणहिटी, रानीपोखरीलगायतका क्षेत्र आसापासको करिब १५ किलोमिटर लामो फुटपाथलाई अपांगमैत्री बनाउन सरकारी प्रयास आफैंमा राम्रो हो । तर यसरी निर्माण गरिएका ‘ट्याक टायल’ अर्थात् दृष्टिविहिन मैत्री फुटपाथले उनीहरुको यात्रालाई थप जोखिमपूर्ण बनाइएदिएको छ ।

आफ्नो घर निर्माण गर्न फुटपाथलाई ‘स्टोर बनाउने’ देखि अरुको भाग्य र भविष्य हेर्ने भन्दै अनिश्चित भविष्य बोकेर सडकमा बसेकाहरुको अतिक्रमणमा छन् यस्ता सडकहरु । अर्कोतिर आम सर्वसाधारणलाई यसरी बनाइएको सडक दृष्टीविहीनका लागि हो भन्ने जानकारीसम्म छैन ।

दृष्टिविहीनहरुले सेतो छडीको साहारामा सहज रुपमा गन्तव्यमा पुग्नका लागि भन्दै थोरै अग्लो हुने गरी ‘ट्याक टायल’  निर्माण गरिएको छ । तर हटाउन सकिने र मिल्ने संरचनाहरुलाई त्यत्तिकै राखेर मनलाग्दी ढंगले घुमाइएका यी फुटपाथमा दृष्टि भएकाहरुले पनि सहजै हिँड्न सक्दैनन् ।

सरकारले झारा टार्ने ढंगले फुटपाथ निर्माण गरिदिँदा, जसको लागि भनेर सडक बनाइएको हो, ऊ नै सबैभन्दा बढी अप्ठेरोमा परेको छ । विशेष गरी दृष्टिविहीनका लागि भनेर बनाइएका सडकमा दृष्टिविहीन नै ठूलो कष्ट भोग्नुपरेको देखिन्छ ।

काठमाडौं दिगो शहरी यातायात आयोजना कार्यालयका आयोजना प्रमुख दीपक श्रेष्ठ दृष्टिविहीनका लागि सजिलो हुने गरी त्यसलाई सुधार गर्ने बताउँछन् ।

सरकारले २०६६ सालमा भौतिक संरचना तथा सञ्चार पहुँच निर्देशिका जारी गरी सार्वजनिक भवन, सरकारी कार्यालय तथा सार्वजनिक स्थललगायतलाई दृष्टिविहीन मैत्री बनाउने घोषणा गरेको भएपनि त्यसलाई कार्यान्वयन गराउन भइरहेका प्रयासहरु पर्याप्त छैनन् । त्यसैले सरकारले सडक छेउको फुटपाथ अतिक्रमण रोक्नेदेखि लिएर दृष्टिविहीनका लागि बनाइएका सडकको बारेमा आम सर्वसाधारणमा जानकारी पु¥याउने र त्यसको ब्यवहारिक कार्यान्वयन गर्नेतिर ध्यान दिनु जरुरी छ ।