
काठमाडौं, असार ५ । चालु आर्थिक वर्ष २०७२/७३ सकिन दुई महिनामात्रै बाँकी हुँदा पूँजीगत खर्च २० प्रतिशतमात्रै भएको छ ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिमा चैत्र मसान्तसम्म ४२ अर्ब ९९ करोड रुपैयाँमात्रै पूँजीगत खर्च भएको तथ्यांक छ ।
चालु आर्थिक वर्षका लागि २ खर्ब ८ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरिएको थियो । समीक्षा अवधिमा पुँजीगत खर्चमा १८ दशमलब ८ प्रतिशतले बृद्धि भई ४२ अर्ब ९९ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत खर्च १८ प्रतिशतले वृद्धि भएकोे थियो । इन्धन एवं निर्माण सामग्रीको अभावका कारण कतिपय महत्वपूर्ण आयोजनाहरू अवरुद्ध भएका तथा भूकम्पपछिको पुनर्निर्माणको कार्यसमेत प्रभावित हुँदा पूँजीगत खर्च अपेक्षित रूपमा हुन नसकेको बैंकले जनाएको छ ।
समीक्षा अवधिमा चालू खर्च ८ दशमलब २ प्रतिशतले वृद्धि भई २ खर्ब ४० अर्ब ९९ करोड पुगेकोे केन्द्रिय बैंकले जनाएको छ । यस अवधिसम्ममा शोधनान्तर बचत भने उच्च रहेको छ ।
अघिल्लो वर्षको पहिलो दश महिनामा ७१ अर्ब ३९ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १३४ अर्ब ३० करोडले बचतमा रहेको छ । त्यसैगरी, अघिल्लो वर्षको पहिलो दश महिनामा १०१ अर्ब १५ करोडले बचतमा रहेको समग्र शोधनान्तर बचत समीक्षा अवधिमा १६६ अर्ब ८३ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्