२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


तराई–मधेश लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन आजबाट


0
Shares

नवलपरासी, असार ६ । तराई–मधेश लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन नवलपरासीको रामग्राममा आजबाट शुरु हुँदैछ । यसका लागि सबै तयारी पूरा गरिएको महामन्त्री तथा प्रचारप्रसार र सञ्चार समिति संयोजक जितेन्द्र सोनलले जानकारी दिएका छन् ।

महाधिवेशनमा प्रधानमन्त्री केपी ओलीलगायत सबै दलका नेतालाई निम्तो पठाइएकाले सबै नेताहरु उपस्थित हुने अपेक्षा गरिएको उनले बताए ।

तीन दिनसम्म चल्ने महाधिवेशनमा काठमाडौं उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाबाट एक हजार प्रतिनिधि र चार सय पर्यवेक्षक पुग्ने छन् ।

भारत, चीन, युरोपेली युनियन, बंगलादेश, चीन र म्यानमारलगायत विभिन्न देशका प्रतिनिधिलाई पनि निम्तो दिइएको उक्त पार्टीले जनाएको छ ।

महाधिवेशनका लागि बृजेश गुप्ता संयोजक रहेको विधान संशोधन तथा परिमार्जन समिति र वृषेशचन्द्र लालको नेतृत्वमा राजनीतिक दस्तावेज तयारी समिति र सर्वेन्द्रनाथ शुक्ल नेतृत्वको नीति तथा कार्यक्रम निर्माण समितिले काम गरेका थिए ।

२०६४ सालमा स्थापित तमलोपाले पहिलो पटक महाधिवेशन गर्न लागेको हो ।