११ असार २०८२, बुधबार | Thu Jun 26 2025


हात्ती आतङ्क रोक्न विद्युतीय तारबार गरियो


0
Shares

कञ्चनपुर, असार ६ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका बडुवाल टोलमा जङ्गली हात्तीको आतङ्क रोक्नका लागि सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको छ ।
शुक्लाफाँटा वन्यजन्तु आरक्ष कार्यालयको सहयोगमा चार किलोमिटर क्षेत्रफलमा विद्युतीय तारबार गरिएको हो ।

जङ्गली हात्तीले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्नका लागि परीक्षणका रुपमा सौर्य ऊर्जामा आधारित विद्युतीय तारबार गरिएको आरक्षका मुख्य संरक्षण अधिकृत बेदकुमार ढकालले बताए ।

‘भारतसँग सीमा जोडिएको बडुवाल टोलमा भारतीय जङ्गल हुँदै आउने हात्तीको झुण्डले बर्सेनि बालीनालीमा क्षति पुर्‍याउँदै आएकाले क्षति न्यूनीकरण गर्न तारबारले मद्दत पुर्‍याउने विश्वास लिएका छौँ,’ उनले भने ।

तारबारमा विद्युत् प्रवाह गरिएको छ ।

विद्युतीय तारबारले यस क्षेत्रका बासिन्दालाई जङ्गली हात्तीको आतङ्कबाट छुटकारा पाउन प्रभावकारी हुने हिमाल मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर सिंहले बताए ।

बडुवाल टोलमा १२५ घरघुरीका ६६९ परिवार बस्दै आएका छन् । आरक्ष कार्यालयले परीक्षण सफल भएमा अन्य मध्यवर्ती क्षेत्रमा समेत विद्युतीय तारबार गर्ने योजना बनाएको छ । (रासस)