
अपडेट : काबुल, असार ६ । अफगानिस्तानको राजधानी काबुलमा आतंकवादी संगठन तालिवानले गराएको आत्मघाती बम विष्फोटमा १४ जना मारिएका छन् ।
मिनी बसमाथि बम विष्फोट गराउँदा मारिने सबै १४ जना नेपाली रहेको अफगानिस्तान गृह मन्त्रालयले जनाएको छ । ती सबै साब्रे सेक्युरिटी कम्पनीमा काम गर्ने गर्दथे ।
नौं जना घाइतेमा पाँचजना नेपाली र चारजना अफगानिस्तानी रहेको त्यहाँका गृहमन्त्रीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
उनीहरु सबै क्यानेडियन दूतावासमा सुरक्षार्थ खटाइएका थिए । जलालावादस्थित क्याम्पमा जाँदै गर्दा गराइएको घटनाको जिम्मेवारी तालिवानले लिएको हो । सुरक्षा गार्ड चढेको दुईमध्ये एक गाडी निस्केपछि अर्कोमा आक्रमण गरेको बताइएको छ ।
मारिने र घाइते हुने नेपाली अफगानिस्तानमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको बताइएको छ । स्थानीय समय अनुसार आज बिहान करिब पौने ६ बजे काबुलमा गुडिरहेको मिनी बसमा अज्ञात ब्यक्तिले बम प्रहार गरेको हो ।
घटनाको थप विवरण प्राप्त भएको छैन । (एजेन्सी)
यसअघिको समाचार
काबुलमा भएको आत्मघाती हमलामा १४ जनाको मृत्यु, मृतकमा नेपाली पनि
अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती हमलामा कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ । मृतकमा नेपाली सुरक्षा गार्डसमेत रहेको अफगान अधिकारीले जनाएका छन् ।
अफगान अधिकारीहरुका अनुसार एउटा मिनीबसलाई लक्षित गरी आत्मघाती हमला भएको हो । पैदल हिडिरहेको हमलाकारीले मिनिबसको नजिकै विस्फोट गराएका थिए ।
अफगान गृहमन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीका अनुसार हमलामा १४ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । घाइतेलाई तत्कालै अस्पताल लगिएको छ ।
बस नजिकै रहेका सर्वसाधारण पनि विस्फोटबाट घाइते भएको बताइएको छ ।
विस्फोटमा मृत्यु भएका नेपाली सुरक्षा गार्डको संख्या र परिचय भने खुलाइएको छैन ।
हमलाको जिम्मेवार तालिवानले लिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्