
काठमाडौं, असार ६ । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले सरकारसँग वार्ताका लागि अध्यक्ष बन्द्रीप्रसाद न्यौपानेको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली गठन गरेको छ ।
उक्त पार्टीको दुई दिनदेखि राजधानीमा जारी उच्चस्तरीय कार्यसम्पादन समितिको बैठकले वार्ताको माध्यमबाटै सबैखालका समस्याको समाधान खोज्नुपर्छ भन्ने निष्कर्षसहित वार्ताटोली गठन गर्ने निर्णय गरेको हो ।
वार्ताटोलीमा पार्टीका वरिष्ठ नेताहरु कृष्णकुमार राई, सुनिता भारती, हरिप्रसाद पोखरेल, दीपमान लोप्चन, उमेश पराजुली, संगम लामा, राजाराम बोगटी र केदारप्रसाद निरौला रहेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसलगायतको क्षेत्रमा भएका आन्दोलनलाई सम्बोधन गर्नेक्रममा वार्ताका लागि उक्त पार्टीलाई केही दिन पहिले आह्वान गरेका थिए ।
समग्र चुरेभावर क्षेत्रलाई समेटेर बेग्लै प्रदेश बनाउनुपर्ने माग राखेर विगतमा उक्त पार्टीले गरेको आन्दोलनलाई सम्बोधन गर्नेक्रममा सो पार्टीसँग सरकारले १४ बुँदे सहमति गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्