Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


बाबुराम भट्टराईविरुद्ध गम्भीर मानवअधिकार उल्लंघनको उजुरी


0
Shares

झापा, असार ६ । सत्यनिरूपण तथा मेलमिलाप आयोगमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वस्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाइँविरुद्ध गम्भीर मानवअधिकार उल्लंघन गरेको भन्दै झापामा उजुरी परेको छ ।

नयाँ शक्ति पार्टीका संयोजकसमेत रहेका डा. भट्टराई तत्कालीन समयमा नेकपा माओवादीमा प्रमुख जिम्मेवार रहेको तथा चापागाइँ इलाममा पार्टीको जिम्मेवार तहमा रहेका बेला शान्तिपुर–३ इलामका चन्द्रकान्त भट्टराईको हत्या भएको भन्दै उनीहरुविरुद्ध आरोप लगाइएको छ ।

वि.सं. २०५६ कात्तिक २४ गते राति १० बजे घरमा सुतिरहेका बेला बन्दुक, पटका, बन्चरो, कत्ती, खुकुरीजस्ता घरेलु हतियार प्रयोग गरी ५७ वर्षीय भट्टराईको हत्या गरिएको भनी उनका छोरा ऋतुपर्ण भट्टराईले स्थानीय शान्ति समितिमार्फत सत्यनिरूपण तथा मेलमिलाप आयोगमा खुल्ला उजुरी दिएका छन् ।

उक्त जघन्य अपराधमा दमक, बाह्रघरेका टंक ढकालको समेत संलग्नता रहेको उजुरीमा दाबी गरिएको छ ।

घटनास्थलबाट प्राप्त सबुत त्यसैबेला जिल्ला प्रहरी कार्यालयमा पेस गरेको उल्लेख गर्दै ऋतुपर्णले न्याय दिलाई पाऊँ भनी उजुरी गरेका छन् । रासस

फाइल फोटो