
सिन्धुली, असार ६ । नेपाली सेनाले सिन्धुलीमा अप्रेसन संकटमोचन सन्चालन गरेर पुनःनिर्माण–१ अभियान सन्चानल गरिरहेको छ ।
वर्षा लागेपछि टहरोमा बसेका पीडितलाई समस्या भएको भन्दै सेनाले सामूहिक आवास निर्माण गर्न लागेको हो ।
पुनःनिर्माण अभियानअन्तर्गत् सिन्धुलीमा रहेको सेनाको चण्डीदल गणले कमलामाई नगरपालिका–९ ढुंग्रेवास, बासेश्वर गाविस–३ बलेनी र बितिजोर गाविस–२ बगैंचामा दुई–दुई गरी जम्मा ६ ओटा सामूहिक आवास भवनको निर्माणकार्य अन्तिम चरणमा पुर्याएको छ ।
आवास कोठा, ट्वाइलेट, बाथरुम, किचन र सौयऊर्जासहितको व्यवस्था हुने उक्त आवासमा एउटा भवनमा आठ परिवार बस्न सक्ने छन् ।
निर्माण हुँदै गरेको ६ ओटा स्टिल बडी भूकम्पप्रतिरोधी भवनमा ४८ परिवार अट्ने चण्डीदल गणका गणपति सूर्यबहादुर अधिकारीले बताए ।
तीनओटै स्थानका भवन असार १० गतेसम्म दैवीप्रकोप उद्धार समितिलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको अधिकारीले बताए ।
६ ओटा भवनको निर्माणमा झन्डै रु एक करोड खर्च हुने अनुमान सेनाको रहेको छ ।
विनाशकारी भूकम्पपछि पीडितहरुको उद्धार, राहत तथा पुनःस्थापनामा निकै क्रियाशील नेपाली सेना चण्डीदल गणले जिल्लामा तीनओटा विद्यालय भवन र दुई हजार ३५५ घरटहराको निर्माण गरिसकेको जनाएको छ । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्