
हरि शर्मा (इमेज)
नवलपरासी, असार ६ । तराई मधेस लोकतान्त्रिक पार्टीको प्रथम महाधिवेशन नवलपरासीको सदरमुकाम परासीमा सोमबारदेखि सुरु भएको छ ।
महाधिवेशनको उद्घाटन अध्यक्ष महन्थ ठाकुरले गरे । कार्यक्रमको उद्घाटन गर्दै ठाकुरले सरकारले आफूहरुका सामान्य माग पूरा गरे पनि वार्तामा बस्ने बताएका छन् ।
मधेस आन्दोलन मत्थर भएपछि राज्यले आफ्ना कार्यकर्तामाथिको धरपकड र गिरफ्तारीलाई झन् बढाएको आरोप लगाउँदै ठाकुरले परिणाममुखी वार्ता गर्न सरकारले नै वातरण मिलाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसका सबै भेदभाव हटाउन आफ्ना पार्टी लागिपर्ने बताए ।
माओवादी द्धन्द्धकाक्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्न मिल्छ भने मधेस आन्दोलनका लागि किन मिल्दैन ? भन्ने उनको प्रश्न थियो ।
कार्यक्रममा देउवाका साथै राप्रपा अध्यक्ष पशुपति शम्शेर राणा, सद्भावनाका अध्यक्ष राजेन्द्र महतोलगायतले मन्तव्य राखेका थिए ।
महाधिवेशनको उद्घाटनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नयाँ शक्तिलगायतका दललाई निमन्त्रणा पठाइएपनि केन्द्रीय नेताहरु सहभागी भएका थिएनन् ।
महाधिवेशनमा युरोपियन युनियन, बंगलादेशलगायतका देशबाट प्रतिनिधि र राजदूतहरु आउने बताएपनि उनीहरुको पनि सहभागिता थिएन ।
भारतीय राजदूतावासको तर्फबाट प्रतिनिधिकोरुपमा विनय कुमारको सहभागिता रहेको थियो ।
२०६४ साल पुस १३ गते स्थापना भएको तमलोपाले ९ वर्षपछि महाधिवेशनको आयोजना गरेको हो ।
यो महाधिवेशनबाट फेरि अध्यक्ष पदमा महन्थ ठाकुरले नै सम्हाल्ने तमलोपाले जनाएको छ । अरु पदमा भने प्रतिस्पर्धा हुने बताइएको छ ।
५७ सदस्यीय केन्द्रीय समितिलाई बढाएर महाधिवेशनले ७१ सदस्सीय बनाउन लागेको हो ।
महाधिवेशनमा जुम्ला, काठमाडौं, ललितपुर भक्तपुर र तराईका २२ गरी २६ जिल्लाका एक हजार ३४ जिल्ला प्रतिनीधि सहभागी छन् ।
महाधिवेशनमा नेपाली राजनीति, मधेसी समाज, मधेसी राज्य, आदिबासी, जनजातिका अन्तर–सम्बन्ध, देशी–विदेशी प्रभावलगायतको एजेन्डामाथि छलफल गरी दस्तावेज निर्माण गरिने तमलोपाले जनाएको छ ।
तीनदिने महाधिवेशन बुधवार सकिने छ ।
प्रतिक्रिया दिनुहोस्