
काठमाडौं, असार ६ । अफगानिस्तानको राजधानी काबुलमा नेपाली सुरक्षा गार्ड सवार सवारी–साधनलाई लक्षित गरी सोमबार बिहान भएको आत्मघाती आक्रमणप्रति राजनीतिक दलले दुःख व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार एक विज्ञप्ति प्रकाशित गरी घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
‘रोजगारीका लागि अफगानिस्तान पुगेका निर्दोष र निहत्था नेपालीको पाशविक, क्रूर र बर्बर हत्याबाट हामी स्तब्ध भएका छौं’–विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले घटनामा परी मृत्युवरण गरेका नेपालीका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
मृतकको पार्थिव शरीरलाई सक्दो छिटो नेपाल फर्काउन, घाइतेको उपचारको व्यवस्था मिलाउन र मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्ति दिन पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।
घटना मानवताविरुद्धको अपराध भएको भन्दै कांग्रेसले निन्दा र भत्सर्ना गरेको छ ।
नेपाल एवं अफगानिस्तानले व्यहोर्नुपरेको शोकको घडीमा संयमताकासाथ एकजुट भएर अघि बढ्न पनि सभापति देउवाले सबैसँग आह्वान गरेका छन् ।
त्यस्तै, नेकपा एमालेले पनि काबुलमा भएको आत्मघाती आक्रमणबाट आफ्नो पार्टी मर्माहत भएको जनाएको छ ।
एमालेले जुनसुकै नाममा गरिने यस्ता आतंककारी आक्रमणको भत्सर्ना गर्दै मानवताविरुद्धका यस्ता अपराधलाई नियन्त्रण गर्न प्रभावकारी कदम चालिनुपर्नेमा जोड दिएको छ ।
एमालेले यस कायरतापूर्ण आक्रमणमा परी ज्यान गुमाउने सबै नेपाली दाजुभाइप्रति र्हािदक श्रद्धाञ्जलि र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
पार्टीद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ–‘मृतकका पार्थिव शरीर आफन्तजनसम्म पुर्याउन, घाइतेको उपचार गर्न र प्रवासमा कार्यरत् नेपालीको सुरक्षाका लागि प्रभावकारी कूटनीतिक पहल गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँछ ।’
यसैगरी, नेकपा माओवादी केन्द्रले काबुलमा गरिएको आत्मघाती आक्रमणको कडा शब्दमा निन्दा एवं भत्सर्ना गरेको छ ।
माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले सोमबार एक विज्ञप्ति प्रकाशित गरी आत्मघाती आक्रमणको विरोध गरेकी छन् ।
उनले आक्रमणमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् ।
उनले नेपालीको सुरक्षाको व्यवस्था गर्न र घाइतेको उचित उपचारको पहल गर्नसमेत सरकारसँग माग गरेकी छन् ।
काबुलस्थित क्यानेडेली दूतावसमा सुरक्षा गार्डकारुपमा कार्यरत् नेपाली नागरिकमाथि सोमबार बिहान ५ः४० बजे गरिएको आत्मघाती आक्रमणमा परी १४ नेपालीको निधन भएको थियो भने पाँच नेपाली घाइते भएका छन् । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्