१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


काबुल आक्रमणमा मारिने र घाइते हुने नेपाली को–कहाँका हुन् ? परराष्ट्रले दियो विवरण


0
Shares

काठमाडौं, असार ६ । अफगानिस्तानको राजधानी काबुलमा तालिबान आतंककारीले गराएको आत्मघाती बम आक्रमणमा १२ जना नेपाली मारिएको सरकारले पुष्टि गरेको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार अपराह्न पत्रकार सम्मेलन गरी घटनामा परी मारिएका १२ जनाको पहिचान भएको र अरु दुईजना नेपाली नै हुन् भन्ने यकिन हुन नसकेको जनाएको हो ।

परराष्ट्र मन्त्रालयकाअनुसार मारिनेमा मधुसुदन कोइराला–नुवाकोट, चन्द्रबहादुर राना मगर–काठमाडौं, अमृतबहादुर थापा–लमजुङ, डम्बरबहादुर तामाङ–नुवाकोट, कृष्णबहादुर ढुंगाना–चितवन, सुपबहादुर गुरुङ–स्याङ्जा छन् ।

यसैगरी, जितेन्द्रसिंह थापा–रुपन्देही, बिदुरबहादुर सुवेदी क्षेत्री–काठमाडौं, लीलबहादुर गुरुङ–नुवाकोट, नवीनसिंह क्षेत्री–पर्वत, अकुल तामाङ–सुनसरी र हरिबहादुर बडुवाल क्षेत्री–काठमाडौं रहेका छन् ।

नेपाली सुरक्षागार्ड चढेको मिनिबसमा पैदलयात्रीले गराएको आत्मघाती विस्फोटमा परी उनीहरु मारिएका हुन् । घटनामा सातजना नेपाली घाइते भएका छन् ।

घाइते हुनेहरुमा प्रेमबहादुर क्षेत्री–मोरङ, चेतप्रसाद शेरचन–म्याग्दी, कुमारबहादुर गुरुङ–गोर्खा, मानबहादुर थापा–चितवन, कृष्णकुमार देउजा–चितवन, अमृत रोकाया क्षेत्री–सुर्खेत र च्याङ्वा तामाङ–नुवाकोटका रहेका छन् ।

मारिनेहरु साब्रे सेक्युरिटी कम्पनीमार्फत् काबुलस्थित क्यानेडेली दूतावासमा सेक्युरिटी गार्डकोरुपमा कार्यरत् थिए ।

जलालावादस्थित क्याम्पमा जाँदै गर्दा गराइएको घटनाको जिम्मेवारी तालिबानले लिएको छ । सुरक्षागार्ड चढेका दुईओटा गाडीमध्ये एउटा गाडी निस्केपछि अर्कोमा स्थानीय समयअनुसार बिहान करिब ५ बजे आत्मघाती विस्फोट भएको थियो ।

पत्रकार सम्मेलनमा परराष्ट्रका प्रवक्ता भरतराज पौड्यालले प्रायजसो मृतकका परिवारसँग मन्त्रालयले सम्पर्क गरिसकेको र उनीहरु शोकको अवस्थामा रहेको बताए ।

उनले घटनास्थलमा पुगी घटनाकाबारेमा थप जानकारी लिन मृतकहरुको शव यथाशीघ्र स्वदेश फर्काउन आवस्यक व्यवस्था मिलाउन इस्लामावादस्थित नेपाली राजदूत तीर्थराज अर्याललाई काबुल जान निर्देशन दिइसकेको बताए ।