१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


अनौठो रोगका कारण विद्यार्थी धमाधम बेहोस


0
Shares

झापा, असार ७ । झापाको कनकाई नगरपालिकामा पर्ने सुरुङ्गामा रहेको मेरीगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी अनौठो रोगका कारण दिनहुँ बेहोस हुन थालेपछि विद्यालयमा तनाव सिर्जना भएको छ ।

विद्यालयका प्रधानाध्यापक गोकुल उप्रेतीका अनुसार आइतबार कक्षा ७ मा अध्ययनरत सातजना छात्रा एकै पटक बेहोस भएका थिए भने सोमबार पनि विद्यार्थी बेहोस भएपछि विद्यालयमा तनाव सिर्जना भएको हो ।

कक्षामा अध्ययनरत रहेकै बखत विद्यार्थी बेहोस हुन थालेपछि उनीहरुलाई स्थानीय मेरिगोल्ड हस्पिटलमा पुर्‍याइएको थियो । हस्पिटलमा रहेका चिकित्सकले समेत अनौठो रोगका कारण विद्यार्थी बेहोस भएको बताएपछि अभिभावक र विद्यालय परिवार चिन्तित बनेको विद्यालयका प्रधानाध्यापक उप्रेतीले बताए ।

‘चौध जना विद्यार्थी बेहोस भएपछि विद्यालय प्रशासन र अभिभावक निक्कै चिन्तित बनेका छौं,’ विद्यालयका प्रधानाध्यापक उप्रेतीले भने ।

विद्यार्थी बेहोस हुन थालेपछि कक्षा ७ को पठनपाठन दुई दिनका लागि बन्द गरिएको उप्रेतीले बताए । (रासस)