
काठमाडौं, असार ७ । ग्रामीण क्षेत्रका पशुपालक किसानलाई लक्षित गरी संखुवासभाको तामाफोक–९ बसन्तपुरमा १ करोड ५० लाख रुपैयाँको चीज उद्योग संचालनमा आएको छ ।
तेह्रथुमको सुङ्नामका व्यवसायी तेजेन्द्र कुरुङवाङले स्थानीय पशुजन्य उत्पादनलाई लक्षित गर्दै चीज उद्योग संचालन गरेका हुन् ।
उद्योगबाट चीज, घ्यू, दुध, छुर्पीलगायतका बस्तु उत्पादन हुने गरेको छ । दैनिक ३ हजार लिटर दूध खपत गर्ने लक्ष्य लिएको उद्योगमा अहिले १ हजार लिटर दूध मात्र आउने गरेको छ ।
तेह्रथुम, धनकुटा र संखुवासभाका चार वटा दुग्ध संकलन केन्द्रसँग दूध खरिदका लागि सम्झौता गरिएको उद्योगले जनाएको छ ।
स्थानीयस्तरमै खुलेको उद्योगमा दूध खपत हुन थालेपछि किसानलाई फाइदा पुगेको छ ।
यसअघि पशुपालक किसानले स्थानीय दुग्ध संकलन केन्द्रमार्फत पूर्वी तराईमा रहेका निजी डेरी उद्योग र सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलाई दूध बिक्री गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्