Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


‘घटनाकै करण अफगानिस्तानमा कामदार पठाउन बन्द गर्न मिल्दैन’


0
Shares

काठमाडौं, असार ८ । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले सोमबार बिहान भएको अफगानिस्तान घटनाकै कारणले त्यहाँ कामदार पठाउन बन्द गर्न नमिल्ने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा भुर्तेलले कूटनीतिकरुपमा यस्तो गर्न नमिल्ने तर त्यहाँको वास्तविक अवस्थाको विश्लेषण पश्चातमात्र बन्द गर्ने वा खुला राख्नेसम्बन्धी निर्णय लिन सकिने बताए ।

उनले कुनैपनि मुलुकको आर्थिक अवस्था, मानवअधिकार, पारिश्रमिक एवं सुरक्षा व्यवस्थाको अध्ययन पश्चातमात्र रोजगारीका लागि खुला गर्ने गरिएको बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्न पुडासैनीले वैदेशिक रोजगारीमा जाने नेपालीलाई सचेत बनाउने एवं दक्षता प्रदान गर्नुपर्ने बताए ।

पुडासैनीले हालै अफगानिस्तानमा नेपालीलाई नै लक्षित गरी घटना कसरी घट्न गयो, एवं नेपाली नागरिक नै किन पर्न गए ? भन्ने विषयमा अनुसन्धान गर्नु जरुरी रहेको पनि उल्लेख गरे ।

उनले हाल नेपालले १ सय १० मुलुकलाई वैदेशिक रोजगारीको लागि खुला गरेको बताउँदै अफगानिस्तानका ‘ग्रीन जोन’मा संस्थागतरुपमामात्र कामदार पठाउने गरिएको बताए ।

पुडासैनीले अफगानिस्तानमा जोखिम भएपनि उचित सुरक्षा व्यवस्था गरेर अमेरिका, भारतलगायतका देशले पनि आफ्ना नागरिक पठाउने गरेको बताए ।

अफगानिस्तानमा ३ हजार ३ सय २३ जना नेपालीलाई संस्थागत् एवं ५ हजार २ सय ९१ जनालाई व्यक्तिगत् तवरमा स्वीकृति दिइएको आँकडा प्रस्तुत् गरे ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले व्यवसायीहरुले गैरकानुनीरुपमा कामदार नपठाएकोे बताउँदै त्यसमा अरु कुनै गिरोह संलग्न भएको दाबी गरे ।

उनले व्यवसायीले नपठाएको अवस्थामा पनि गैरकानुनीरुपमा कामदार त्यहाँ पुग्नुमा सरकारको कमजोरी देखिएको पनि बताए ।