Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


सप्तकोसीमा पानीको बहाव यो वर्षकै उच्च, ५६ मध्ये २७ ढोका खोलिए


0
Shares

रत्नप्रसाद आचार्य (इमेज)
सुनसरी, असार ८ । सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ ।

बुधबार (आज) बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीका बहाव बढेर १ लाख ७९ हजार ५ सय क्युसेक पुगेको हो ।

नदीमा पानीको बहाव बढेसँगै अहिले ब्यारेजका ५६ मध्ये २७ ढोका खोलिएका छन् ।

पानीको बहाव बढ्नेक्रम निरन्तर रहेकाले सप्तकोसी आसपासका जोखिपूर्ण गाविसहरुमा उच्च सतर्कता अपनाइएको छ ।

हरिपुर, श्रीपुर, पश्चिम कुशाहा, लौकही, मधुवन, नर्सिङहा, प्रकासपुर, भोक्राहा र महेन्द्रनगर गाविस बाढीको उच्च जोखिममा छ । यी ठाउँका स्थानीयलाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

पानी बढेसँगै प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका उच्च सुरक्षा अधिकारीहरुले बाँधको अवलोकनसमेत गरेका छन् ।

कोसी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार काट्नेबितिक्कै खतराको संकेत रात्तोबत्ती बाल्ने गरिन्छ ।

१ लाख ५० हजारमात्र पानीको बहाव कटेमा पश्चिमतर्फ र दुई लाख काट्नेबितिक्कै पूर्वतर्फ रातोबत्ती बालिन्छ ।

पानीको बहाव तीन लाख काट्नासाथ मध्यभागमा पनि रातो बत्ती बालिन्छ । कोसी व्यारेजमा ९ लाख ५० हजार क्युसेक पानीको भारवहन क्षमता छ ।

तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिएकाले थोरै पानीको बहावमा पनि खतरा हुने गरेको हो ।
फाइल फोटो