३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


नेपालमा योग तथा अध्यात्म पर्यटनको सम्भावना प्रवल: मन्त्री पोखरेल


0
Shares

काठमाडौं, असार ८ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले भगवान् बुद्धको जन्मभूमि तथा शिवको तपस्या भूमि नेपालमा योग तथा अध्यात्म पर्यटनको सम्भावना प्रवल भएको बताएका छन् ।

अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा नेपाल योग एसोसोसिएसनले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री पोखरेलले नेपालको सांस्कृतिक विविधता, प्रकृतिक उपहारका अलावा योग तथा अध्यात्मको माध्यमबाट पनि पर्यकलाई नेपाल भित्र्याउन सकिने बताए ।

त्यसका लागि सरकारले आवश्यक गृहकार्य अघि बढाईरहेको जानकारी पनि उहाँले दिनुभयो । पछिल्लो समयमा भूकम्प र नाकाबन्दी पछि नेपालको पर्यटन क्षेत्र खस्किएको भएपनि योग पर्यटनको माध्यमबाट यसलाई नयाँ ढंगले विकास गर्न सकिने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल योग एसोसिएसनका अध्यक्ष मोहन लम्सालले पर्यटन, योग र अध्यात्मबीच समन्वय गराएर अघि बढ्न सके नेपाल विश्वकै उत्कृष्ट धार्मिक तथा आध्यात्मिक गन्तव्य बन्नसक्ने धारणा राखे ।

उनले पर्यटनको माध्यमबाट योगको विकास गर्नका लागि आफूहरुले नयाँ अवधारणा अघि सारेको र यसलाई आउँदा दिनमा पनि निरन्तरता दिने बताए ।

कार्यक्रममा नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य नवराज सुवेदीले राजनीतिक क्षेत्रमा लागेका व्यक्तिलाई सहि बाटोमा हिडाउनका लागि अध्यात्म र योग रामबाण हुने भन्दै आफ्नो पार्टीले योग र अध्यात्मलाई आत्मसाथ गर्दै अघिबढ्ने बताए ।

कार्यक्रममा योग र अध्यात्मसँग सम्बन्धित विज्ञहरुले पर्यटन, योग, अध्यात्मलगायतका विषयमा कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । संयुक्त राष्ट्रसंघले हरेक वर्षको जुन २१ लाई विश्व योग दिवसको रुपमा मनाउने निर्णय गरेसँगै नेपालमा पनि योग दिवस भव्य रुपमा मनाउन थालिएको छ ।