१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


काबुलमा मारिएका १२ नेपालीको शव काठमाडौं ल्याइयो, शव बुझ्न पुगे प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार ८ । अफगानिस्तानको काबुलमा गत सोमबार आत्मघाती बम आक्रमणमा मारिएका १२ नेपालीको शव आज काठमाडौं ल्याएको छ ।

शब बुझ्न प्रधानमन्त्री केपी ओली त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल पुगेका थिए । नेपाल सरकारले चार्टर गरी पठाएको नेपाल वायुसेवा निगमको विशेष विमानमा शव ल्याइएको हो ।

यसका साथै अफगानिस्तानमा रहेर काम गर्दै आएका २४ नेपाली कामदार पनि स्वदेश फर्किएका छन् ।  स्वदेश फर्किएका उनीहरु पनि काबुलस्थित क्यानेडियन दूतावासको सुरक्षामा खटिएको बेलायती कम्पनी साब्रे इन्टरनेशनलमा आबद्ध थिए ।

आज बिहान ३ बजे मेडिकल टोलीसहित काठमाडौंबाट उडेको विमान विहान साँढे ६ बजे काबुल विमानस्थलमा अवतरण गरेको थियो । विमानमा नेपाली सेनाका चार, नेपाल प्रहरीका तीन, गृह मन्त्रालयका एक, परराष्ट्र मन्त्रालयका एक र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका एक जना गएका थिए ।

विस्फोटमा परी सख्त घाइते भएका ७ जनामध्ये ५ कामदारलाई आज विहान भारतको दिल्ली पठाइएको छ । दिल्ली लगिएकामा मोरङका प्रेमबहादुर क्षत्री, म्याग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ, चितवनका कृष्णकुमार देउजा र सुर्खेतका अमृत रोकाया क्षत्री रहेका छन् । उनीहरुको दिल्लीस्थित अपोलो अस्पतालमा उपचार सुरु गरिएको छ ।

चितवनका मानबहादुर थापा र नुवाकोटका च्याङ्वा तामाङको स्वास्थ्य अवस्था भने जटिल रहेको जनाइएको छ ।