१२ असार २०८२, बिहिबार | Thu Jun 26 2025


‘निर्दोष नेपालीको हत्या कायरतापूर्ण’ शवहरुको लस्कर देख्दा मन थामिएन (भिडियो)


0
Shares

काठमाडौं,असार ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा अफगानिस्तान गएका निर्दोष नेपालीको हत्या ‘कायरतापूर्ण र अमानवीय’ भएको बताएका छन् ।

उनले अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपाली नागरिकको शव आज स्वदेश ल्याएपछि त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जलि अर्पण गरेका थिए।

श्रद्धाञ्जलिपछि प्रधानमन्त्री ओलीले सेवाको भावनाले काम गरिरहेका निर्दोष र कुनै सम्बन्ध नभएका नेपालीलाई हत्या गर्ने कार्यको निन्दा र भत्र्सना गरे । “कुनै युद्ध होइन, कुनै वैरभाव छैन, त्यस्तालाई हत्या गर्ने आतङ्ककारी क्रियाकलापको परिणामतः १२ जना नेपालीको निधन भयो, उहाँहरुप्रति सबैका तर्फबाट श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दछु”– भने ।

प्रधानमन्त्री ओलीले आक्रमणमा घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शव मृतकका परिवारलाई हस्तान्तरण गर्ने र सम्बन्धित स्थानमा शव पु¥याउने प्रबन्ध मिलाइएको जानकारी गराए ।

उनले उद्धार कार्यपछि मृतकका परिवारलाई कसरी सहयोग गर्ने भन्ने सम्बन्धमा छलफल गरेर अघि बढ्ने जानकारी गराउँदै भने– “सरकारको तर्फबाट प्राथमिकताअनुसार गर्ने काम गरेको र थप कामका बारेका छलफल गरेर पीडितलाई के कस्तो सहयोग गर्नुपर्छ भन्नेतर्फ पनि हामी सोच्दैछौं ।”

अफगानिस्तानमा कार्यरत स्वदेश आउन चाहने नेपाली नागरिकका सम्बन्धमा सरकारले के व्यवस्था गर्छ भन्ने जिज्ञासामा उनले त्यस विषयमा सरकारले विचार गर्ने बताए ।

विमानस्थलमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत, श्रम तथा रोजगारमन्त्री दीपक बोहरा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाहीलगायतले मृतकको शव राखिएका कफिनमाथि फूलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

सोमबार अफगानिस्तानमा भएको आत्मघाती हमलामा परी १२ नेपालीको मृत्यु भएको थियो । यस घटनामा अन्य सात जना घाइते भएका छन् ।

सरकारले नेपाल वायु सेवा निगमको विमान चार्टर गरी आज उक्त शव नेपाल ल्याएको हो । त्यस विमानमा अफगानिस्तानमा कार्यरत २४ नेपाली नागरिक स्वेच्छाले काम छोडेर स्वदेश फर्केका छन् । रासस