३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


परम्परागत खाद्य पदार्थको प्रवद्र्धन गर्न खाद्य मेला आयोजना हुँदै


0
Shares

काठमाडौं, असार ८ । स्वदेशी खाद्य उत्पादनको प्रवद्र्धन तथा खाद्य पोषण सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले राजधानीमा खाद्य मेला २०७३ आयोजना हुने भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना एवं कृषि उद्यम केन्द्र तथा खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको सह आयोजनामा मेला असार १० र ११ गते भृकुटीमण्डपमा सञ्चालन हुनेछ ।

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक सञ्जीव कुमार कर्णले मेलाबाट खाद्य परनिर्भरता हट्ने, स्थानीय खाद्यवस्तुको उपभोगमा वृद्धि हुने एवं पोषणको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले मेलामा खाद्य प्रविधि विषय अध्ययन गर्न इच्छुक विद्यार्थी एवं खाद्य व्यवसायका उद्यमीका लागि विभिन्न जानकारी समेत उपलब्ध हुने बताए ।

मेलामा खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिनुका साथै विभिन्न जातजातिका लोकप्रिय, पौष्टिक परिकारको प्रदर्शनी एवं विक्री वितरण गरिने आयोजकले जनाएका छन् ।

मेलामा परम्परागत परिकारका १८ स्टल, जानकारीमूलक २४ स्टल र उद्योगहरुबाट उत्पादित खाद्य वस्तुको ३६ स्टलसहित कुल ७८ वटा स्टल रहने जनाइएको छ ।