
काठमाडौं, असार ९ । फ्रान्समा जारी युरोकप फुटबल प्रतियोगिताको समुह चरणका खेल सकिएका छन् ।
समुह इ र एफ का अन्तिम लिग खेलहरु बुधबार राति सकिएपछि अन्तिम १६ अर्थात प्रि क्वाटरफाइनलमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ ।
बुधबार राती भएको समुह ई का अन्तिम खेलमा बेल्जियमले स्विडेनलाई १–० ले हराउँदा आयरयाण्डले ईटालीलाई १–० ले नै हराएको छ । यो समुहबाट समुह विजेता ईटालीसँगै बेल्जियम र आयरल्याण्ड पनि प्रि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बुधबार राती नै भएको समुह एफ का खेलमा आइसल्याण्डले अष्ट्रियालाई २–१ ले हराउँदा पोर्चुगल र हंगेरीले ३–३ गोलको बराबरी खेलेका छन् ।
यो समुहबाट हंगेरी शीर्ष स्थानमा रहँदै राउण्ड अफ सिक्सटिनमा पुग्दा दोस्रो स्थानको आईसल्याण्ड र तेस्रो स्थानको पोर्चुगल पनि अन्तिम १६ मा पुगेका छन् ।
बुधबार रातीका खेलपछि युरोकप फुटबलका प्रि क्वाटरफाईनलका भिडन्त तय भएका छन् । शनिबारदेखि सुरु हुने नकआउट चरणको पहिलो खेलमा स्विट्जरल्याण्डले पोल्याण्डसँग खेल्नेछ ।
सोही दिन वेल्स र नर्दन आयरल्याण्ड तथा क्रोएसिया र पोर्चुगल भिड्नेछन् । आयोजक फ्रान्सले आइतबार रिपब्लिक अफ आयरल्याण्डसँग खेल्दा सोही रात जर्मनी र स्लोभाकिया तथा हंगेरी र बेल्जियम भिड्नेछन् ।
यसैगरी राउण्ड अफ सिक्सटिनकै ठूलो भिडन्तमा सोमवार ईटाली र स्पेन अमने सामने हुनेछन् । अघिल्लो युरोकपका फाइनलमा भिडेका यी दुई टोलीको भिडन्तलाई निकै महत्व दिईनेछ ।
युरोकप फुटबलअन्तर्गत राउण्ड अफ सिक्सटिनको अन्तिम खेलमा सोमबार राति इङ्लाण्डले आईसल्याण्डसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्