
नवलपरासी, वैशाख १८ । घरेलु उत्पादनलाई प्रोत्साहन गरी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा लघु, घरेलु तथा साना उद्योग महोत्सव सुरु भएको छ ।
महोत्सवको बुधबार प्रदेश नम्बर–५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले उद्घाटन गरे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नवलपरासीले आयोजना गरेको ‘लघु, घरेलु तथा साना उद्योग महोत्सव एवं प्रविधि प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादन भएका घरेलु उत्पादनदेखि हस्तकलाका सामग्रीहरु रहेका छन् ।
स्थानीयस्तरमा रहेका स्रोतको सदुपयोग गरी उत्पादन गरेका वस्तुहरुको दीगो बजार पहुँच स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको महासंघका जिल्ला अध्यक्ष मेघराज गौतमले जानकारी दिए ।
महोत्सवमा घरेलु वस्तु उत्पादनकाक्रममा प्रयोग हुने विभिन्न प्रविधिहरुको पनि प्रदर्शनी गरिएकोे छ ।
महोत्सवमा आधुनिक घरेलु वस्तुसँगै हराउँदै गएका मौलिक परम्परागत वस्तु, हस्तकलालगायतका ४० ओटा स्टलहरु रहेका छन् ।
यही वैशाख २२ गतेसम्म सन्चालन हुने महोत्सव २० हजार बढी दर्शकले अवलोकन गर्ने र करिब एक करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्