
काठमाडौं, असार ९ । दोस्रो संविधानसभा चुनाव बहिस्कार गरेका ३३ दलीय राष्ट्रिय मोर्चाले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको छ ।
विहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र मोर्चाका प्रतिनिधिबीच भएको वार्तामा मोर्चाले पाँच बुँदे माग अघि सारको हो ।
भेटवार्ता प्रधानमन्त्रीसँग तय भएको भएपनि वार्ताका लागि प्रधानमन्त्रीले उपप्रधानमन्त्री गच्छदारलाई जिम्मेवारी सुम्पिएका थिए ।
वार्तापछि सन्चारकर्मीहरुसँग बोल्दै उपप्रधानमन्त्री गच्छदारले वार्ता सकारात्मक भएको र ३३ दलीय मोर्चाका मागमा सरकारले ठोस निर्णय गरेर फेरि मोर्चासँग वार्ता गर्ने जानकारी दिए ।
वार्तामा सहभागी नेपाल समता पार्टीका महासचिव विक्रम कुँवरले मोर्चाले पनि निर्वाचनमा भाग लिन पाउने कानुनी व्यवस्था गरिनुपर्ने माग राखेको बताए ।
मोर्चाका अन्य मागहरुमा गरिब, किसान, मजदुर, बेरोजगार, दलित, अव्यवस्थित भूमिहीन सुकुम्बासीलगायतका समास्या सम्बोधन गर्न अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने, महँगी र कालोबजारी नियन्त्रण गरी सुशासन कायम गर्नुपर्नेलगायत छन् ।
प्रतिक्रिया दिनुहोस्