४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


६ महिनामा नेप्से ५३३ अंकले बढ्यो, बीमा समूह ४४४२ ले उछालियो


0
Shares

काठमाडौं, असार ९ । नेपाल धितोपत्र बोर्डले बारम्बार होसियार भएर धितोपत्र बजारमा लगानी गर्न आग्रह गर्दै आएको छ ।

मुलुकको समग्र आर्थिक परिसूचकहरुबारे अवगत गराउँदै बोर्डले विभिन्न समयमा गरी तीनपटक सचेत भएर लगानी गर्न पुँजी बजारका लगानीकर्तालाई आह्वान गर्दै आएको छ ।

लगानीकर्तालाई सचेत गराउनु बोर्डको कर्तव्य भएपनि पुँजीबजार झार्ने मनसाय नरहेको बोर्डले स्पस्ट पारेको छ ।

बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता निरज गिरी पछिल्लो समयमा नयाँ साना लगानीकर्ता पुँजी बजारको दोस्रो बजारमा प्रवेश गरेको र उनीहरुलाई सचेत गराउनु बोर्डको कर्तव्य भएको बताउँछन् ।

बजारमा चलखेलसमेत हुनसक्ने भएकाले त्यसतर्फ लगानीकर्ताले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

लगानीकर्ताहरु भने लगानी गर्न अन्य क्षेत्रमा अवसर र वातावरण नहुँदा पुँजी बजारमै लगानी गर्नुपर्ने अवस्था रहेको बताउँछन् ।

बैंक तथा वित्तीय संस्थामा बढी तलरता हुँदा उनीहरुले दिने व्याजदर पनि न्यून भएकाले पनि शेयर बजारमा नै लगानी थपिएको लगानीकर्ताको भनाइ छ ।

२०७२ पुष ८ देखि २०७३ असार ९ गतेसम्मको आँकडा हेर्दा यो अवधिमा नेप्से ५ सय ३३ अंकले बढेको छ । यसमध्ये बीमा समूह सबैभन्दा बढी बिन्दूले उछालिएको छ ।

यो अवधिसम्म बीमा समूह ४ हजार ४ सय ४२ बिन्दूले उक्लिएको छ भने त्यसपछि जलविद्युत् समूहमा बृृद्धि आएको छ । यो अवधिसम्म जलविद्युत् समूह ७ सय ८३ अंकले बढेको देखिन्छ ।

यस्तै, विकास बैंक समूह ६ सय १६ बिन्दूले, उत्पादनमूलक ५ सय ७१ बिन्दूले बढेको छ भने वाणिज्य बैंक समूह ४ सय ६३ बिन्दूले उकालो लागेको छ ।

यसैगरी, होटल समूह २ सय ९४ बिन्दूले बढेको देखिन्छ भने सबैभन्दा कम अर्थात् २० अंकलेमात्रै अन्य समूह बढेको छ ।

सरकारले बजेटमार्फत् नै बीमा कार्यक्रमलाई प्राथमिकता दिन खोजेकाले यस समूहमा लगानीकर्ता आकर्षित भएको लगानीकर्ताको भनाइ छ ।

मुलुकले संविधान पाएको, पूर्वाधार क्षेत्रमा क्रमिक सुधार आएको र आर्थिक वातावरण बिगार्ने तत्काल कुनै कारण नदेखिएको हुँदा पनि पुँजी बजारमा लगानी आइरहेको लगानीकर्ताको विश्वास छ ।

पुँजी बजारलाई अर्थतन्त्रको सूचक मानिन्छ । हाल मुलुकको अर्थतन्त्रका सूचक सन्तोषजनक देखिँदैन ।

यद्यपि, लगानी गर्ने उपयुक्त समयकोरुपमा कतिपय लगानीकर्ताले यहि समयलाई मानेको देखिन्छ ।

तर, लगानी अर्काको बहकाउमा नभइ स्वविवेक, कम्पनीको अवस्थालाई ध्यान राखेरै गर्नु उपयुक्त हुने जानकार सुझाउँछन् ।