२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


बेलायतको निर्णयले विश्वभर झड्का


0
Shares

लन्डन, असार १० । बेलायतमा बिहीबार भएको जनमतसंग्रहको परिणाम युरोपेली संघमा नरहनेगरी आएपछि यस निर्णयले विश्वव्यापीरुपमा झड्का उत्पन्न भएको छ ।

बेलायतले गरेको यो निर्णयपछि विश्वका देशहरुमा यसको असर के–कस्तो पर्ला भन्नेबारेमा विभिन्न हिसाबले प्रतिक्रियाहरु आउन थालेका छन् ।

युरोपेली देशहरुको साझा संस्थाकारुपमा रहेको यस संघको ६० वर्षे इतिहासमा बेलायत यसरी बाहिरिने पहिलो राष्ट्र भएको छ भने अर्कातर्फ यस्तो निर्णय गर्ने बेलायत नै यो पहिलो राष्ट्र पनि भएको छ ।

यो निर्णयसँगै बेलायतलाई पनि एकीकृतरुपमा रहने विषयमा चुनौती हुनसक्ने अनुमान पनि वैज्ञानिकहरुले गरेका छन् ।

स्कटल्यान्डले आफू युरोपेली संघबाट अलग भएर बस्न नसक्ने जनाएको छ भने बहुसंख्यक नभएपनि ठूलो संख्याका मानिस पनि यो निर्णयमा अडिग रहेका छन् ।

यसरी युरोपेली संघमा रहन नहुने भनी निर्णय गर्ने व्यक्तिको संख्या १० लाखभन्दा पनि बढी रहेको छ । यसलाई पनि ठूलो संख्याकोरुपमा लिनुपर्ने हुन्छ ।

बिहीबार भएको जनमतसंग्रहमा ५२ प्रतिशत नागरिकले उक्त संघमा नरहने पक्षमा मतदान गरिसकेका छन् भने रहनुपर्छ भन्नेहरु ४८ प्रतिशत छन् ।

यसरी यो संख्या हेर्ने हो भने १० लाखभन्दा बढीको फरक देखिएको छ । यो फरक मतदानपछि अन्ततः बेलायत अब उक्त संघमा नरहने त निश्चित नै भइसकेको छ ।

‘जुन २३ को इतिहासलाई हामीले बेलायतको स्वतन्त्रता दिवससरह मान्नुपर्ने हुन्छ’–भन्छन्, इयुविरुद्धको अभियानका नेता निगेल फारेज ।

उनकाअनुसार अब बेलायतका लागि यो ठूलो अवसर पनि हुनसक्छ र जसले गर्दा आगामी दिनमा यसले युरोपेली युनियनबाट बाहिरिएर ठूलो काम गरेर पनि देखाउन सक्छ ।

‘हामीले यो काम गरिछोडेका छौं, अन्ततः हामीले जितेका छौं’–युरोपेली संघमा रहनु हुन्न भन्ने अभियानका अभियन्ताहरुले यस्तो नाराबाजी गर्दै विजयजुलुस मनाइरहेका छन् ।

उनीहरुले ‘बाहिर निस्कियौं, बाहिर निस्कियौं’ (वी आर आउट) भन्दै नाराबाजी गरेका समाचारमा जनाइएको छ ।

यतिखेर विश्वको छलफलको विषय नै यही बनेको छ । उनीहरुले बेलायत बाहिरिएर के फाइदा हुन्छ वा के घाटा पर्छ भन्ने विषयलाई छलफलको केन्द्रमा राखेका छन् ।

यसको प्रत्यक्ष असर बेलायतको सेयर बजारमा पनि परेको छ । सेयरको सुरुआतमा नै यो बजार कम्तीमा पनि ८ प्रतिशतले घटेको थियो ।

तर, बेलायतको बैंकले भने आर्थिक क्षेत्रमा कुनैपनि समस्या उत्पन्न हुन नदिने भन्दै लगानीकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेको छ ।

यतिखेर बेलायतको राजधानी लन्डनदेखि कैयौं स्थानमा विजयजुलुसहरु निकालिएका छन् ।

जुलुसमा बेलायती नागरिकले आफ्नो पक्षमा मत आएको भन्दै खुसी व्यक्त पनि गरेका छन् । रासस/एएफपी