४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


राष्ट्र बैंकले आइतबार १० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै


0
Shares

काठमाडौं, असार ११ । बजारमा अत्यधिक मात्रामा रकम थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार रु १० अर्ब बराबरको राष्ट्र बैंक ऋणपत्र जारी गर्ने भएको छ ।

तरलतालाई केही हदसम्म भएपनि नियन्त्रण गर्ने लक्ष्यकासाथ बैंकले ऋणपत्रमार्फत् बजारबाट रकम उठाउन लागेको हो ।

बैंकले एक सूचनामार्फत् ऋणपत्र खरिदमा सहभागी हुन आग्रह गरेको छ ।

ऋणपत्र भने बोल–कबोलबाट बिक्री–वितरण गरिने जनाइएको छ । आइतबार अहराह्न ३ बजेसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले उक्त ऋणपत्र खरिद गर्नसक्ने जनाएको छ ।

ऋणपत्र खरिद गर्न चाहनेले अनलाइनमार्फत् पनि आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

बोल–कबोलमा सबैभन्दा कम ब्याजदरको प्रस्ताव गर्नेले ऋणपत्र खरिद गर्न पाउने व्यवस्था गरिएको बैंकले सार्वजनिक गरेको सूचनामा जनाइएको छ । ऋणपत्रको ब्याजदर भने हरेक ६ महिनामा भुक्तानी दिइने छ ।

उक्त पत्र खरिद गर्न चाहनेले रु एक करोडले भाग गर्दा निःशेष भाग जाने गरी रु १० अर्बसम्मका लागि आवेदन दिन सकिने छ ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन धितोकारुपमा ऋणपत्र राख्न सकिने छ ।

पछिल्लो समय लगानीका अवसर निर्माण हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएको छ । केन्द्रीय बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल रु एक खर्ब बढीको तरलता छ ।

तरलता व्यवस्थापन गर्न अनेकौं उपाय अवलम्बन गर्दै आएको बैंकले व्याजदर घटाएर भएपनि लगानी बढाउन अन्य बैंक तथा वित्तीय संस्थालाई आग्रह गर्दै आएको छ । रासस