१३ असार २०८२, शुक्रबार | Fri Jun 27 2025


क्यानाडसँग नेपालीको प्रश्न : काबुलमा १३ नेपाली के कारण मारिए ?


0
Shares

काठमाडौं, असार १२ । अफगानिस्तानको काबुलमा मारिएका १३ जना नेपालीका विषयमा क्यानाडामा रहेको नेपाली कूटनीतिक नियोगले त्यहाँको सरकारसँग कुराकानी थालेको छ ।

काबुलस्थित क्यानेडेली दूतावासमा सुरक्षाकर्मी रहेका नेपाली तालिबानी विष्फोटमा मारिएपछि नेपाली कूटनीतिज्ञले क्यानाडाको ओटावामा प्रश्न उठाएको त्यहाँको ‘नेशनल पोष्ट’ले समाचार प्रकाशित गरेको हो ।

खतरापूर्ण क्षेत्रबाट उनीहरुलाई किन त्यति असुरक्षित मिनिबसबाट ओसारियो भन्ने प्रश्न उठाइएको जनाइएको छ । विष्फोटमा १३ नेपाली र दुई भारतीय सुरक्षा गार्ड मारिएका थिए । घटनामा ६ नेपाली घाइते भएका छन् ।

घटनामा नेपालको सरोकार र चाँसो क्यानेडेली सरकारसमक्ष राख्दै के कस्तो परिस्थिति र कूटनीतिक सुविधामा नेपाली गार्डहरु उनीहरुको कार्यस्थलदेखि आवासक्षेत्रसम्म ओसारिने गरेका थिए भन्ने जानकारी मागेको त्यहाँस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी अहिले पनि काबुलस्थित क्यानेडेली दूतावासमा काम गरिरहेका नेपालीकाबारेमा पनि जिज्ञासा राख्दै उनीहरुको उचित सुरक्षा प्रवन्धको अनुरोध गरेका जनाइएको छ । यस विषयमा क्यानाडाका प्रधानमन्त्रीले ट्वीटरमार्फत् समवेदनासमेत प्रकट गरेका थिए ।

यता, दिल्लीस्थित क्यानाडेली उच्चायुक्तसँग पनि नेपाली अधिकारीहरुले नेपालको चासो प्रस्तुत गरेका छन् । घटनामा मारिएका नेपाली बेलायती सुरक्षा कम्पनीमार्फत अफगानिस्तान गएका थिए ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बीबीसी नेपाली सेवासँगको कुरामा काबुल घटनाबारे क्यानडा सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको जानकारी गराएका हुन् ।