
काठमाडौं, असार १३ । आगामी वर्षभित्र तीन वटै निर्वाचन गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज निर्वाचन आयोगको निरीक्षण गरेका छन् ।
आयोगको केन्द्रीय कार्यालय बहादुर भवन पुगेर प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले अहिलेसम्म गरेको काम र तयारीका बारेमा जानकारी लिएका हुन् ।
प्रधानमन्त्री ओलीले मंसिरमा निर्वाचनको मिति घोषणा हुँदा निर्वाचन हुन सक्ने वा नसक्ने बिषयमा आयोगसँग परामर्श गरेका हुन् ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले स्थानीयलगायत अन्य सबै निकायको निर्वाचन गर्ने सोचमा सरकार रहेको भन्दै आवश्यक तयारी थाल्न पनि निर्वाचन आयोगलाई निर्देशन दिए ।
उनले निर्वाचन सम्पन्न भए पछि मुलुकले गति लिने भन्दै मुलुकको निकासका लागि निर्वाचन अपरिहार्य रहेकोमा जोड दिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य पार्टीसँग छलफल गरेर निर्वाचनको मिति घोषणा गरिने उनको भनाइ थियो ।
प्रधानमन्त्रीसँगै निर्वाचन आयोगमा पुगेका कानुनमन्त्री अग्नीप्रसाद खरेलले निर्वाचन गर्नु सरकारको एक मात्र लक्ष्य रहेकाले कानुनी व्यवधानका बारेमा पनि आयोगसँग छलफल भएको जानकारी दिए । अन्य दल र निर्वाचन आयोगसँग परामर्शपछि स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरिने बताए ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले मंसिरमा स्थानीय निर्वाचन गराउन आयोग सक्षम रहेको बताए ।
निर्वाचनको वातावरण बनाउने दायित्व सरकारको भएको भन्दै उनले निर्वाचनका लागि आयोगले आवश्यक प्राविधिक र प्रशासनिक तयारी गरिसकेको बताए । निर्वाचन सम्पन्न गर्न कम्तिमा १ सय २० दिनअगाडि सरकारले मिति घोषणा गर्नुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्रीसँगै गृहमन्त्री शक्ति बस्नेत, कानुन मन्त्री खरेल, एमाले महासचिव इश्वर पोखरेल, एमाले सभासद् राजेन्द्र पाण्डे, भानुभक्त ढकाल पनि निर्वाचन आयोग पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस्