४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


चौहत्तर प्रतिशत अदक्ष कामदार विदेशमा


0
Shares

जनकपुरधाम, असार  १४  । वैदेशिक रोजगारमा बर्सेनि अदक्ष श्रमिक जाने क्रम बढ्दै गएका कारण ठगिने र दुखद् घटनामा वृद्धि हुँदै गएको तर्फ ध्यानाकर्षण गराइएको छ ।

सामुदायिक विकासका लागि सहकार्य नेपाल र नवयुवा सरस्वती क्लबद्वारा सोमबार आयोजित ‘सुरक्षित आप्रवासन’ विषयको कार्यक्रमका सहभागीले राम्रोसँग कुरा नबुझी लहैलहैमा लागी वैदेशिक रोजगार जानाले पनि जोखिम बढ्दै गएको बताए । एक तथ्याङ्क अनुसार नेपालबाट वैदेशिक रोजगारमा ७४ प्रतिशत अदक्ष श्रमिक गइरहेका छन् ।

सो अवसरमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक निर्मला थापाले सही सूचना समयमै नपाएका कारण पनि वैदेशिक रोजगार दुखद् बनेको छ भने । कार्यक्रम प्रबन्धक खड्गबहादुर थापाका अनुसार नेपालका ५० लाख श्रमिक भारतमा विभिन्न क्षेत्रमा कार्यरत छन् ।

नेपाली काँगे्रसका सचिव कोमलकान्त झाले अधिकांश रोजगारदाताले फरक प्रकृतिको काम गराई शोषण गरिरहेका छन् भने।

नेकपा (एमाले)का राजकिशोर यादवले कम्पनीले अपारदर्शी ढङ्गले वैदेशिक रोजगारमा पठाउने गरेका कारण पनि आप्रवासन असुरक्षित बन्दै गएको प्रसङ्ग उल्लेख गरे । तराई– मधेस लोकतान्त्रिक पार्टीका परमेश्वर साहले सम्झौता अनुरूप काम नदिने प्रवृत्ति मौलाउँदै गएको धारणा राखे ।

सामुदायिक विकासका लागि सहकार्य नेपालका अध्यक्ष रामबाबु अधिकारीको सभापतित्वमा भएको सो कार्यक्रममा संयोजक यम घिमिरेले ८५ प्रतिशत व्यक्ति श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा गइरहेकाले पनि दुर्घटना र दैवी प्रकोपको बेला उद्धारमा समस्या आउने गरेको बताए । रासस