
नारायण अधिकारी (रासस)
चितवन, असार १४ । एचआइभी संक्रमित भएकै कारण सम्बन्धविच्छेद भइ पुनर्विवाह गरेका एक दम्पतीले जुम्ल्याहा सन्तान जन्माएपछि उनीहरुको जीवनमा खुसी फर्खिएको छ ।
चितवनको माडी घर भएका ती दम्पतीले यही असार ४ गते भरतपुर अस्पतालमा सुरक्षित बच्चा जन्माएका हुन् । उनीहरुबाट जन्मिएका दुई छोराको स्वास्थ्य अवस्था राम्रो छ ।
सुरुमा परीक्षण गर्दा दुबै शिशुमा एचआइभी संक्रमण भेटिएको छैन । जन्मिएको ४२ दिनपछि डीएनए डीसीआर परीक्षण गरेपछि संक्रमण भए/नभएको पत्ता लाग्ने चिकित्सकहरुले बताएका छन् ।
प्रारम्भिक परीक्षणमा संक्रमण नदेखिएकाले संक्रमणमुक्त हुने सम्भावना बढी छ । एचआइभी संक्रमणका कारण दुबैले जीवनमा निकै ठूलो आरोह–अवरोह पार गरेका छन् ।
श्रीमान् राम (नाम परिवर्तन) र श्रीमती सीता (नाम परिवर्तन)बीच चार वर्षअघि दुबैको दोस्रो विवाह भएको हो ।
पहिलो विवाह गरेका रामको श्रीमतीबाट र सीताको श्रीमान्बाट एचआइभी संक्रमण भएको उनीहरु दाबी गर्छन् ।
एचआइभी संक्रमण भएपछि दुबैले सम्बन्धविच्छेद गरे । आफू संक्रमित भएपछि संक्रमित नथपिउन् भनी संक्रमित भएकाहरुको अधिकारका लागि दुबै जुटे ।
रामले भने–‘यहीक्रममा हाम्रो भेट भयो, विवाह बन्धनमा बाँधियौं ।’
परिवारको एकमात्र छोरा रामको परिवारमा सन्तान जन्मिँदा अहिले खुसीको सीमा छैन ।
निकै मार्मिक र पीडादायी जीवन भोग्दै आएका रामले आफ्नो विगत सुनाउँदै भने–‘वैदेशिक रोजगारका लागि टिकट काटेर जानुभन्दा अघिल्लो दिन रगत परीक्षण गर्दा आफूमा संक्रमण भेटियो । त्यो कहालिलाग्दो समय अहिले म व्यक्त गर्न सक्दिनँ ।’
पाँचवर्षको मलेसिया बसाइपछि २०६३ भदौमा राम घर फर्किए, २०६४ फागुनमा विवाह भयो । त्यसको एक महिनापछि पुनः दुबइ जानका लागि आवेदन दिए ।
उनले भने–‘स्वास्थ्य परीक्षण गरियो, पैसा पनि बुझाइयो । शनिबार दिउँसोको उडान थियो, म विहीबार काठमाडौं पुगें’–उनले थपे–‘यो बीचमा मलाई जन्डिस भएकाले पुनः स्वास्थ्य परीक्षण गर्न नातेदारसमेत रहेका एजेन्टसँग आग्रह गरें, उनकै सहयोगमा शुक्रबार स्वास्थ्य परीक्षण गर्दा शंकास्पद देखियो, टेकुमा परीक्षण गर्न भनियो ।’
उनी भन्छन्–‘शुक्रबार टेकुमा परीक्षण गरें, टेकुमा पनि एचआइभी संक्रमण देखियो, टिकट रद्द गरें, मेरो विदेश जाने सपना चकनाचुर भयो ।’
‘श्रीमतीमा पनि एचआइभी संक्रमण पुष्टि भयो’–आफ्नो विगतको कथा सुनाउँदै उनले भने–‘त्यसपछि मेरो जीवनका सबै सपना चकनाचुर भए ।’ उनले अगाडि भने–‘श्रीमतीसँग कुरा मिलेन, सम्बन्धविच्छेद भयो ।’
त्यस्तै, सीताको पनि आफ्नै कथा छ । नवलपरासीकी सीता बागलुङका एक युवकसँग विवाह बन्धनमा बाँधिइन् ।
भारतको बनारसमा काम गर्दै आएका ती युवकसँग विवाह भएको एक महिना बित्न नपाउँदै एचआइभी संक्रमण भएको थाहा भयो ।
यससँगै उनले पनि सम्बन्धविच्छेद गरिन् । त्यो पीडाको समयलाई सम्झन पनि उनी चाहन्नन् ।
तर, आज जीवनमा उकाली–ओराली गर्दै खुसीको क्षणसम्म उनी आइपुगेकी छन् । दुई छोराकी आमा बनेकी छन् ।
एएचएफ नेपाल, भरतपुर अस्पतालको सहयोगमा उनीहरुका जस्ता ७१ बालबालिकाले जन्म लिएका छन् । सन् २०११ देखि हालसम्म संक्रमित आमाबाट ती बालबालिका जन्मिएका हुन् ।
एएचएफ नेपाल, भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाकाअनुसार नियमित औषधि सेवन गरेका आमाबाट जन्मिएका शिशु सुरक्षित छन् ।
अस्पतालमा जन्मिएका ती शिशुमध्ये दुईजनामा संक्रमण देखिएको छ भने तीनजनाको मृत्यु भएको छ । अरु ६६ शिशु स्वस्थ्य छन् । दुईजना गर्भवती आमाले अहिले औषधि खाइरहेका छन् ।
भरतपुर अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा. सुनिलमणि पोखरेलले एचआइभी संक्रमित आमाहरुलाई अस्पतालमा अन्यलाईभन्दा प्राथमिकतामा राखेर उपचार र शिशु जन्माउँदा शल्यक्रिया गर्ने गरेको बताए ।
नियमित एआरटी प्रयोग गरेका आमाबाट जन्मिएका अधिकांश शिशु संक्रमणमुक्त रहेको पनि उनले बताए ।
विगतमा चिकित्सकहरुले एचआइभी संक्रमितहरुलाई नहेर्ने गरेको गुनासो हटेर गएको उनले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्