४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


भक्तपुरमा ५० प्रतिशत रोपाइँ सकियो


0
Shares

भक्तपुर, असार १५ । भक्तपुरमा ५० प्रतिशत रोपाइँ सकिएको छ ।

समयमा मनसुन सुरु भइ वर्षा हुनु र किसानले खेतनजिकका खोलानाला, खोल्सा र पोखरीको पानी पम्पसेटमार्फत् सिँचाइ गरेकाले ५० प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुंगानाले जानकारी दिए ।

जिल्लाको दुई मुख्य खोला मनोहरा र हनुमन्तेका साथै खस्याङ खुसुङखोला किनारको फाँटमा सिचाइँको सहज सुविधा भएपनि सिरुटार, दधिकोट, गुन्डु, सिपाडोल, ताथली, सुडाल, नखेललगायत गाउँमा आकासेपानीको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ ।

यस वर्ष प्रिमनसुनदेखि लगातार परेको वर्षाका कारण असारको दोस्रो हप्तामा नै आकासेपानीमा निर्भर रहेका खेतमासमेत रोपाइँ सकिएको किसानहरु बताउँछन् ।

जेठको अन्तिम साता र असारको पहिलो साता रोपिएका धान गोड्नसमेत सुरु गरेको भक्तपुर नगरपालिका–१४ का ७२ वर्षीय नारायण ग्वाछा बताउँछन् ।

जिल्लाकोे ११ हजार १०६ हेक्टर खेतीयोग्य जमिनमध्ये चार हजार ३४८ हेक्टरमा धानखेती गरिन्छ ।

यहाँ प्रतिहेक्टर ६ दशमलव दुई टनका दरले वार्षिक २७ हजार मेट्रिकटन धान उत्पादन हुन्छ । रासस

फाइल फोटो