काठमाडौं, वैशाख १७ । पाँचौं केएनपी महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ ।
फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै सशस्त्र च्याम्पियन बनेको हो ।
मंगलबार ललितपुरको लगनखेलस्थित आर्मी कभर्डहलमा भएको खेल सशस्त्रले २५–१४, २५–९ र २५–१५ ले जित्यो ।
प्रतियोगितामा न्यू डायमन्ड एकेडेमी तेस्रो भयो । डायमन्डले तेस्रो स्थानको भिडन्तमा नेपाल पुलिस क्लबलाई ३–० कै सोझो सेटमा हरायो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।
उत्कृष्ट
विधागततर्फ उत्कृष्ट स्पाइकरमा न्यू डायमन्डकी प्रतिभा माली, उत्कृष्ट ब्लकरमा सशस्त्रकी हीरा केसी, उत्कृष्ट सेटरमा सशस्त्रकै विनिता बुढाथोकी, उत्कृष्ट डिफेन्समा सशस्त्रकी मनीषा तामाङ, उत्कृष्ट सर्भरमा आर्मीकी सोफिया पुन तथा उत्कृष्ट प्रशिक्षकको उपाधि सशस्त्रका प्रशिक्षकले जिते । विधागत विजेताले जनही सात हजार रुपैयाँ पाएका छन् ।








प्रतिक्रिया दिनुहोस्