२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


प्रतिपक्षले उठाएका जायज माग पूरा गर्न सरकार कटिबद्ध : प्रधानमन्त्री


0
Shares

काठमाडौं, असार १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणको काम पारदर्शीरुपमा अघि बढिरहेको र राजनीतिक आस्थाका आधारमा कसैलाई भेदभाव नगरिएको स्पस्ट पारेका छन् ।

व्यवस्थापिका–संसदको बुधबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पुनःनिर्माण प्राधिकरणले दलीय आस्थाका आधारमा काम नगरेको र हरेक काम पारदर्शीरुपमा अघि बढिरहेको बताए ।

प्रम ओलीले भने–‘प्राधिकरणको निर्णयबाट एक दललाई बढी फाइदा र अर्काे दललाई घाटा हुने कुनै काम कहीँ कतै भएको छैन, अगामी दिनमा पनि हुने छैन ।’

‘अहिलेको प्राथमिकता भनेको खुला आकासमुनि रहेका जनतालाई आवास निर्माण गरी सुरक्षित बनाउनु नै हो’–उनले भने ।

प्रम ओलीले पुनःनिर्माणका कामलाई तीव्रता दिने विषय छ भने कार्ययोजनालाई परिमार्जन गर्न सकिने चर्चा गर्दै अहिले सबैको चिन्ता भनेको छिटो घर निर्माण गर्न र पीडितलाई राहत प्रदान गर्नु नै हुनुपर्नेमा जोड दिए ।

विगतमा नाकाबन्दीका कारण इन्धन संकट हुँदा निर्माण समाग्री जुटाउन केही व्यवधान आइपरेको भएपनि अहिले पुनःनिर्माणको काम तीव्ररुपमा अधि बढिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

अनुदान सहयोगलाई सहज र सरल तुल्याउन दातृ निकायसित परामर्श गरी निर्देशिका परिमार्जन गर्न सरकारलाई कुनै आपत्ति नभएको प्रम ओलीले बताए ।

उनले घर बनाउन एकमुष्ट रु एक लाख ५० हजार र दोस्रो किस्ताबापत रु ५० हजार उपलब्ध गराउन सकिने जानकारी दिए ।

प्रम ओलीले घर बनाउन प्रदान गरिएको रकम दुरुपयोग रोक्न, झुटो विवरण दिनेलाई कारबाही गर्न र बैंकको प्रक्रियालाई सरलीकृत बनाउन कार्यविधि परिमार्जन गरिने जानकारी दिए ।

जनतालाई छिटो र सहुलियत ढंगबाट अनुदान पुर्‍याउनुपर्छ भन्नेमा कुनै दुईमत नरहेको चर्चा गर्दै प्रम ओलीले भने–‘यस्तो बेलामा हामी सबैको एकताबद्ध प्रयास र समझदारीको आवश्यकता छ ।’

देश संक्रमणकालमा रहेकाले छिटो पार लगाएर अघि बढ्न आवश्यक रहेको बताउँदै उनले ‘प्रतिपक्षले उठाएका जायज माग पूरा गर्न सरकार कटिबद्ध रहेको छ’–भने ।

आन्दोलनरत् मधेसवादी दललाई सम्बादमा आउन पनि प्रधानमन्त्री ओलीले संसदमार्फत् पुनः आग्रह गरे ।

प्रधानमन्त्रीले बैठकलाई सम्बोधन गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले भूकम्पपीडितलाई दिने रकमकोबारेमा प्रधानमन्त्रीको भनाइ स्पस्ट नभएको भन्दै प्रष्टीकरणको माग गरेका थिए । रासस

फाइल फोटो