४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


पोखरामा रोपाइँ महोत्सव, विदेशी पर्यटक पनि हिलोमा रमाए (भिडियोसहित)


0
Shares

प्रदीप पौडेल (इमेज)
पोखरा, असार १५ । मनसुन सुरु भएसँगै किसानहरु काँधमा हलो–जुवा बोकेर गोरु धपाउँदै बेसी झरिरहेको दृश्यले अहिले गाउँघर ढाकिएको छ ।

कतै रुझ्दै–भिज्दै त कतै सुक्खा भएको ठाउँमा पनि पानी लगाउनलाई कुलो काट्दै छन् किसानहरु ।

पोखराका पर्यटन व्यावसायीहरु भने यही मौकालाई सदुपयोग गरेर पर्यटकलाई भित्र्याउन असारे महोत्सवमा व्यस्त छन् ।

भूकम्प र नाकाबन्दीको मारपछि नेपालको पर्यटन व्यवसाय सुस्ताएकाबेला पोखराका पर्यटन व्यवसायीहरुले भने पर्यटकहरुको सहभागितासहित असारे महोत्सव मनाएका छन् ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने मुख्य नाराकासाथ पोखरा पर्यटन परिषदले पोखरा–१७ महतगौंडामा १३औं संस्करणको महोत्सवको चाँजापाँजो मिलाएको हो ।

आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी हरेक वर्ष असार १५ लाई पोखरामा असारे रोपाइँ महोत्सवकारुपमा मनाउने परम्परा नै बसेको छ ।

रोपाइँ महोत्सवमा यस वर्ष अपेक्षा गरेजस्तो विदेशी पर्यटकको सहभागिता नभए पनि पोखरेलीहरुको भने उल्लेख्य सहभागिता रहेको थियो ।

असार १५ मा हिलोमै टेक्नुपर्छ भन्ने मान्यताले महोत्सवमा अधिकांश सहभागीहरु हिलाम्य भएको देखेपछि विदेशी पर्यटकहरुसमेत मन थाम्न नसकी हिलोमै लुटुपुटु भएर रमाएका देखिन्थे ।

हली, बाउसे, खेताला र अन्य सहभागीहरु एक–आपसमा हिलो छ्याप्दै रमाइलो गरिरहेका दृष्य निकै रोमान्चक देखिन्थ्यो ।

हिलाम्य भएका पर्यटकहरुमा को स्वदेशी र को विदेशी भन्ने चिन्नै मुस्किल परेको थियो । एक रिपोर्ट (भिडियोमा हेर्नुहोस्)