
काठमाडौं, असार १५ । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ ।
राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषदलाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषदका उपाध्यक्ष चैतन्य शर्माको बुधबार बिदाइ भएको छ ।
उनलाई बुधबार भक्तपुरस्थित परिषद कार्यालयमा कर्मचारीले बिदाइ गरेका हुन् । शर्मा २०७१ चैतमा नियुक्त भएका थिए ।
सदस्यसचिव नारायणप्रसाद कोइराला भने परिषदको सहसचिवस्तरका कर्मचारी भएकाले उनले आफ्नो कामलाई फरक हैसियतमा निरन्तरता दिनेछन् ।
शर्माले माध्यमिक शिक्षाको पाठ्यक्रम र परीक्षा व्यवस्थापनमा नयाँ संरचना आएको र यसले जटिलता थपिनसक्ने भएकाले सरकारले पर्याप्त मानवस्रोत र भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने बताए ।
परिषद् मातहत रहेका तीन हजार ६०० उमावि अब शिक्षा विभागको मातहत रहनेछन् । दस जोड दुई कक्षामात्र सन्चालन भएका विद्यालयले तलको कक्षा पनि सन्चालन गर्नुपर्नेछ ।
ऐनले वि.सं. २०४६ मा स्थापित परिषदलाई बोर्डमा रुपान्तरण गराइ हालको कक्षा १० को प्रवेशिका परीक्षा अन्त्य गरेको छ । अब कक्षा १२ मा राष्ट्रिय परीक्षा हुनेछ ।
बोर्डको अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्ने समितिमा लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा ख्यातिप्राप्त शिक्षाविद्मध्येबाट कम्तीमा एकजना महिला पर्ने गरी शिक्षा मन्त्रालयले मनोनयन गरेका दुईजना सदस्य रहेको सिफारिस समिति रहनेछ ।
मन्त्रालयको प्रत्यक्ष निकायकारुपमा बोर्ड आउने भएपछि परिषदका कर्मचारीमा कसरी समायोजन हुने भन्ने अन्योलसमेत देखिन्छ ।
भर्ना प्रक्रियामा थप व्यवस्था
यसैबीच, परिषदले कक्षा ११ मा भर्ना हुन विद्यार्थीले रोजेको विषय पढ्न ‘सी प्लस’ ल्याउनुपर्ने भन्ने यसअघिको प्रावधान संशोधन गरी व्यवस्थापन समूहमा भर्ना हुन गणितमा ‘डी प्लस’ र मानविकी, शिक्षा समूहमा सम्बन्धित विषयमा ‘डी प्लस’ ल्याएपनि हुने भएको छ ।
शिक्षामन्त्री तथा परिषदका अध्यक्ष गिरिराजमणि पोखरेलको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । रासस
प्रतिक्रिया दिनुहोस्