४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


‘तीन वर्षभित्र मुलुक धानमा आत्मनिर्भर’


0
Shares

काठमाडौं, असार १५ । ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने मूलनाराकासाथ बुधबार १३औं राष्ट्रिय धान दिवस एवं रोपाइँ महोत्सव मनाइयो ।

धान दिवस एवं रोपाइँ महोत्सवमा स्वदेशीसहित विदेशी पर्यटकहरु पनि सहभागी भए ।

कृषि विभाग एवं बाली विकास निर्देशनालयले ललितपुरको महालक्ष्मी नगरपालिका सिद्धिपुरमा गरेको कार्यक्रममा विभागका महानिर्देशक डा. युवकध्वज जीसीले आगामी तीन वर्षभित्रमा मुलुक धानमा आत्मनिर्भर हुने दाबी गरे ।

धानको उत्पादन बृद्धि गर्न उत्पादकत्व बृद्धि गर्नुपर्ने भन्दै उनले त्यसका लागि उन्नत बीउको प्रयोग, सिँचाइ, यान्त्रिकीकरण, कृषि प्राविधिकको प्रयोगको आवश्यकता रहेको बताए ।

कृषिक्षेत्रमा देखिएको समस्याको समाधान कृषि मन्त्रालयबाटमात्र सम्भव नरहेको उनको भनाइ छ ।

कृषिसँगै ऊर्जा, सिँचाइ, सडक, भन्डारण, मूल्य निर्धारणसमेतको सम्बन्ध रहेकाले समग्र कृषिक्षेत्रको विकासका लागि अरु निकायको पनि सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

धान रोपाइँमा उत्साहकासाथ कृषक, सर्वसाधारण एवं पर्यटक सहभागी थिए ।

उक्त अवसरमा कृषकहरुले धानबालीमा किरा लाग्नेलगायतका समस्याले आफूहरु पीडित भएको भन्दै सहयोगका लागि सरकारसँग आग्रह गरेका छन् ।

नेपालमा करिब १४ लाख २० हजार हेक्टर जमिनमा धान उत्पादन हुँदै आएको छ ।

वर्षभरि उत्पादन हुने कुल खाद्यान्नमध्ये ५५ प्रतिशत हिस्सा धानको रहेको कृषि विकास मन्त्रालयले जनाएको छ ।

कुल ग्रार्हस्थ्य उत्पादनमा धानको योगदान ७ प्रतिशत छ भने कुल ग्रार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान रहेको मन्त्रालयको तथ्यांक छ ।