६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


इस्तानबुलको विमानस्थलमा विस्फोट, ४१ जना मारिए, कसरी भयो आक्रमण ? (फोटोफिचर)


0
Shares

काठमाडौं, असार १५ । टर्कीको इस्तानबुलस्थित अटाटुर्क विमानस्थलमा बुधबार बिहान आत्मघाती बम आक्रमण र अन्धाधुन्ध गोली प्रहारबाट कम्तिमा ४१ जना मारिएका छन् ।

युरोपको सबैभन्दा व्यस्तमध्ये एक यो विमानस्थलमा ट्याक्सीमा आएका तीनजना आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा र बम विस्फोट गराउँदा उनीहरुको मारिएका हुन् ।

मारिनेमा कम्तिमा १३ जना विदेशी नागरिक छन् । घटनामा २ सय ३९ भन्दा बढी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणकारीले अन्तर्राष्ट्रिय टर्मिनलको मुख्य प्रवेशद्वारमा आक्रमण गरेका हुन् । प्रहरीले गोली चलाउन थालेपछि आक्रमणकारीले आफैंलाई विस्फोट गराएका थिए ।

आक्रमण योजनाबद्धरुपमा भएको अधिकारीहरुले दाबी गरेका छन् । आक्रमणपछि विमानस्थलमा जहाजको उडान तथा अवतरण रद्द गरिएको छ ।

आक्रमणमा ‘कुर्दिस’ पृथकतावादी वा ‘आइएस’को संलग्नता हुनसक्ने आशंका गरिएको छ ।

गत वर्ष सरकार र कुर्दिस पृथकतावादीबीचको युद्धविराम भंग भएपछि टर्कीमा आक्रमणका घटना बढेका छन् ।

यसैबीच, टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले आक्रमणको निन्दा गर्दै आतंकवादविरुद्ध संयुक्त अभियानका लागि आह्वान गरेका छन् ।

यता, अमेरिकाले आक्रमणलाई जघन्य अपराध भन्दै टर्कीलाई सहयोग गर्न तयार रहेको बताएको छ भने जर्मनीले पनि आक्रमणको निन्दा गरेको छ । (एजेन्सी)