२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


‘पुरुषमात्र हुने मञ्च इन्कार गरौं’ अभियान थालियो


0
Shares

काठमाडौं, वैशाख १७ । राज्यले सुनिश्चित गरेको महिलाको ३३ प्रतिशत सहभागितालाई सघाउ पुर्‍याउने उद्देश्यले ‘पुरुषमात्र हुने मञ्च इन्कार गरौं’ अभियान सुरु गरिएको छ ।

सार्वजनिक मञ्चहरुमा महिलाका विषय हुन् वा अरु विषय, पुरुषमात्रै मञ्चहरुमा देखिने अवस्था टीठलाग्दो भएको भन्दै यो अभियान सुरु गरिएको संयुक्त राष्ट्रसंघको सीड कमिटीका उपाध्यक्ष बन्दना राणाले बताइन् ।

अभियानको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार राजधानीमा शुभारम्भ गरे ।

अभियानप्रति ऐक्यबद्धता जनाउँदै उनले लैंगिक समानताका लागि अभियान उपयोगी सावित हुने विश्वास व्यक्त गरे ।

तर, राजनीतिमा लैंगिक असमानताको समस्या भने नरहेको उनको भनाइ छ ।

कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, पत्रकार एवं महिला अधिकारका क्षेत्रमा कार्यरत् व्यक्तिहरुको उपस्थिति थियो ।

वक्ताहरुले लैंगिक असमानताविरुद्ध गरिने अभियानले महिला सहभागिता बढाउन दबाब सिर्जना गर्ने बताए ।

नेपालमा जनसंख्याको हिसाबले महिलाको संख्या धेरै रहे पनि प्रतिनिधित्वको हिसाबले थोरै भएकाले ‘लैंगिक समानताका लागि हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ अभियान सुरु गरिएको आयोजकले जनाएको छ ।