
काठमाडौं, असार १६ । नेपालको संविधानमा समेटिएका विभिन्न अन्तर्वस्तु विषयमा टीका–टिप्पणी गर्दै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसदको विहीबारको बैठक बहिस्कार गरेको छ ।
सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आबद्ध आन्दोलनरत् दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका सांसद दिलबहादुर नेपालीलाई बोल्न समय प्रदान गरिन् ।
सांसद नेपालीले विश्वव्यापी संविधान निर्माणको लोकतान्त्रिक मूल्य–मान्यतालाई बेवास्ता गर्दै द्रुतमार्गको नाममा जनताको अधिकार खोसेर घोषणा गरिएको संविधान आफूहरुलाई स्वीकार्य नहुने बताए ।
संविधानले समानुपातिक र समावेशी सहभागिताको सुनिश्चितता नगरेको हुँदा आफूहरु जनताको मुद्दा स्थापित गराउन निरन्तररुपमा आन्दोलन गर्दै आएको सदनलाई जानकारी गराउँदै उनले विहीबारको बैठक बहिस्कार गरेको घोषणा गरे ।
उनको बहिस्कारको घोषणासँगै मोर्चासँग आबद्ध राजनीतिक दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए ।
आन्दोलनरत् पक्षका माग संविधान संशोधनमार्फत् सम्बोधन गर्न मोर्चाले सरकारलाई आग्रह गर्दै सदनको बैठक निरन्तररुपमा केही समयदेखि बहिस्कार गर्दै आएको छ । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्